Site icon Street Nepal

विद्रोहको कथा ‘भाग भेडा भाग’[तस्विर]

मानिसले आफूलाई संसारको मालिक ठान्छ। नियम बनाउँछ, व्यवस्था चलाउँछ र अरू प्राणीलाई आफ्नो नियन्त्रणमा राख्छ। तर, त्यही व्यवस्थाभित्र थुनिएका जनावरले विद्रोह गर्न थाले भने के हुन्छ? यही कल्पनालाई रोचक नाटकीय प्रस्तुतिमा उतारेको छ मण्डला थिएटरको नाटक ‘भाग भेडा भाग’ले।

काठमाडौँको थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटकले मानिसको स्वार्थ, सत्ता र सामाजिक व्यवस्थाभित्रका विकृतिमाथि व्यङ्ग्य गर्छ। जनावर र मानिसको काल्पनिक संसारमार्फत प्रस्तुत नाटकमा खोरभित्रका जनावरहरू विस्तारै आफ्नो अस्तित्व र शक्ति पहिचान गर्दै मालिकको नियन्त्रणविरुद्ध उभिन्छन्।

अतियथार्थवादी शैलीमा तयार पारिएको नाटकको लेखन तथा निर्देशन संयोग गुरागाईंले गरेका हुन्। मण्डला थिएटरको बीसौँ ब्याचका प्रशिक्षार्थी कलाकारहरूको सामूहिक अभिनय रहेको नाटकमा नयाँ पुस्ताको ऊर्जा र रङ्गमञ्चीय प्रयोग देख्न सकिन्छ।

नाटकमा जनावरहरू मानिसजस्ता र मानिसहरू जनावरभन्दा निकृष्ट देखिनुले यसको व्यङ्ग्यलाई थप अर्थपूर्ण बनाएको छ। विकासका नाममा बनाइने योजना, व्यवस्थाभित्रको बेथिति र शक्तिको आडमा हुने स्वार्थको खेललाई नाटकले प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।

‘भाग भेडा भाग’ केवल जनावरको कथा होइन, मानिसले निर्माण गरेको व्यवस्थामाथि उठाइएको प्रश्न पनि हो।

नाटक कार्तिक २१ गतेसम्म मञ्चन हुनेछ। सोमबारबाहेक हरेक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त प्रदर्शन हुँदै आएको छ।

Exit mobile version