Auto
भारतको प्रिमियम ई–स्कुटर ‘एम्पियर’ अब पोखरामा
भारतको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एम्पियर’ अब पोखरामा पनि उपलब्ध भएको छ।
नेपालमा प्रवेश गरेको करिब दुई महिनापछि एम्पियरले पोखराको बुद्धचोकबाट आफ्नो आधिकारिक बिक्री सुरु गरेको हो।
एम्पियर स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एसटीसी अटो सोलुसन प्रा. लि. ले पोखरास्थित डीएनबी ट्रेड प्रा. लि. लाई आधिकारिक डिलर नियुक्त गरेको जनाएको छ। कम्पनीले वैशाख ३१ गतेदेखि ‘एम्पियर नेक्सस ईएक्स’ स्कुटरको बिक्री वितरण सुरु गरेको हो।
भारतको ‘ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी’ कम्पनीद्वारा उत्पादन गरिएको एम्पियर स्कुटर १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ब्रान्ड मानिन्छ। कम्पनीले विगत १५ वर्षदेखि विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादन गर्दै आएको छ।
‘एम्पियर नेक्सस ईएक्स’ दैनिक प्रयोगका लागि उपयुक्त, आरामदायी र किफायती इलेक्ट्रिक स्कुटरका रूपमा बजारमा ल्याइएको कम्पनीको दाबी छ। स्कुटरमा ३.९ किलोवाटको मोटर र ३ किलोवाट-घण्टा क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार फुल चार्जमा यसले १३६ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
स्कुटरको ब्याट्री घरमै करिब साढे ३ घण्टामा पूर्ण चार्ज गर्न सकिने बताइएको छ। यसमा रिभर्स मोडसहित पाँचवटा राइडिङ मोड, डिस्क ब्रेक, एलोय ह्विल, अल–एलईडी लाइट, यूएसबी चार्जर र स्मार्ट कनेक्टिभिटी जस्ता सुविधा रहेका छन्।
एम्पियर स्कुटरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीलाई माइनस ४० डिग्रीदेखि ६० डिग्री सेल्सियससम्म परीक्षण गरिएको कम्पनीले जनाएको छ। ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी पनि उपलब्ध गराइएको छ।
नेपालमा ‘एम्पियर नेक्सस ईएक्स’ को मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ।
You must be logged in to post a comment Login