नेपाली बजारमा लोकप्रिय मिनी ईभी केई इक्युट ०४ अब थप शक्तिशाली मोटर र नयाँ डिजाइनमा आएको छ। जीओ अटोमोबाइल्स र लक्ष्मी ईमोबिलिटीले ५५ किलोवाटको मोटर भएको नयाँ फेसलिफ्ट मोडल नेपाल भित्र्याएका हुन्।
यसअघि ४० किलोवाटको मोटरमा उपलब्ध इक्युट ०४ अब १५ किलोवाट बढी क्षमताको मोटरसहित आएको हो। नयाँ मोडलको मूल्य भने पुरानै २५ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ।
यसमा २८.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सीएलटीसी मापदण्डअनुसार एकपटक फुल चार्जमा ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जरबाट ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब ३० मिनेट लाग्छ।
नयाँ इक्युट ०४ को बाहिरी डिजाइनमा पनि परिवर्तन गरिएको छ। परिमार्जित फ्रन्ट बम्पर, साइड भेन्ट, हिडन डोर ह्यान्डल र नयाँ एलईडी टेललाइटले यसलाई आधुनिक लुक दिएका छन्। भित्र ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र सेन्ट्रल टचस्क्रिनसहितको नयाँ ड्यासबोर्ड छ।
सुरक्षाका लागि एयरब्याग, एबीएस, ईएसपी, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा तथा अगाडि–पछाडि पार्किङ सेन्सरलगायत सुविधा दिइएका छन्।
मोटरको क्षमता बढ्दा पनि मूल्य नबढ्नु नयाँ इक्युट ०४ को मुख्य आकर्षण हो।

