Site icon Street Nepal

‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’[भिडियो]

हलमा दर्शकको साथ पाइरहेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले नयाँ गीत ‘बुझन मलाई’ सार्वजनिक गरेको छ। बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतले चलचित्रको मुख्य पात्र काजीको बाहिरी स्वभावभन्दा भित्र लुकेको भावनात्मक संसारलाई खोतल्ने प्रयास गरेको छ।

‘कबड्डी’ शृङ्खलामा जिद्दी, चञ्चल र अप्रत्याशित स्वभावका पात्रका रूपमा चिनिएका काजी अर्थात् दयाहाङ राईको मनभित्र कस्ता भावना खेलिरहेका हुन्छन्? नयाँ गीतले यही प्रश्नको सांगीतिक जवाफ खोजेको छ। काजीको चरित्र यात्राबाट प्रेरित गीतमा उनका भावनात्मक उतारचढाव, अन्तर्द्वन्द्व र मानवीय संवेदनालाई प्रस्तुत गरिएको छ।

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको गीतले कथाको एउटा महत्त्वपूर्ण पाटोलाई संगीतमार्फत अभिव्यक्त गरेको छ। गीतमा आशिष चित्रकारको गितार तथा अर्गन, सरिन बज्राचार्यको ड्रम्स र कृष्ण लिम्बूको बास गितार सुन्न सकिन्छ। अमूल्य श्रेष्ठले अडियोसक स्टुडियोमा रेकर्डिङ गरेका गीतको रेकर्ड प्रोडक्सन बिजु कर्माचार्यले गरेका हुन् भने मिक्सिङ रिकेश गुरुङले गरेका छन्।

यसअघि सार्वजनिक ‘थाक खोला’ले पनि चलचित्रको प्रचारमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। कालीप्रसाद बास्कोटाकै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा काजी र उनका तीन सोल्टिनी मैयाँ (रिश्मा गुरुङ), मिस शान्ति (मिरुना मगर) र सिर्जना गुरुङबीचको प्रेम, नोकझोक र अल्झिएको सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। थकाली परिवेश र नेपाली लोक–आधुनिक संगीतको स्वाद समेटिएको गीतले चलचित्र प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता बढाएको थियो।

गीतसँगै हलमा पनि ‘कबड्डी ५’को चर्चा

कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ। निर्देशक रामबाबु गुरुङका अनुसार चलचित्रले प्रदर्शनको पहिलो मंगलबारसम्म ७ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ। चलचित्रका अधिकांश शो हाउसफुल भइरहेको निर्माण पक्षले जनाएको छ।

रामबाबु गुरुङको कथा तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरुङ, रिश्मा गुरुङ, मिरुना मगरलगायत कलाकारको अभिनय छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन्।

‘बुझन मलाई’ले काजीको चरित्रलाई थप बुझ्न सघाउने प्रयास गरेको छ। अब चलचित्रको कथासँग जोडिएको यो नयाँ गीतले दर्शकको मन कत्तिको छुन्छ भन्ने चासो छ।

Exit mobile version