नेवार समुदायले आफ्नो मौलिक तथा परम्परागत पर्व म्हःपूजा आज विधिपूर्वक मनाएका छन्। नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा नेवार समुदायले आफ्नो शरीर तथा अन्तरात्माको पूजा गरी म्हःपूजा मनाएका हुन्।
नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ। त्यसैले म्हःपूजाको शाब्दिक अर्थ शरीरको पूजा हो। यसलाई आत्मा वा अन्तरात्माको पूजा गर्ने संस्कृतिका रूपमा पनि लिइन्छ। आफूभित्रको नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा प्राप्त होस्, आगामी दिनमा शुद्ध मनले काम गर्न सकियोस् र कसैलाई हानि नपुगोस् भन्ने कामनासहित म्हःपूजा गर्ने परम्परा छ।
म्हःपूजाका लागि सर्वप्रथम पूजा गर्ने व्यक्तिको आसनअगाडि मण्डल अर्थात् म्हःमण्डप बनाइन्छ। व्यक्तिको प्रतीकका रूपमा बनाइने मण्डलमा पानी र तेलका चक्र बनाउनुका साथै जीवनका विभिन्न अवस्थाको प्रतीकस्वरूप सामग्री सजाइन्छ। अन्धकार नाश र उज्यालोको प्रतीकका रूपमा लामो बत्ती बालेर पूजा गर्ने चलन छ।
म्हःपूजामा शुद्ध चामल (आखे), कालो मास, भटमास, धान, लावा र फूललगायत सामग्री प्रयोग गरिन्छ। यी सामग्रीलाई मानिसको शरीर र जीवनका विभिन्न पक्षसँग जोडेर हेर्ने गरिन्छ।
यस वर्ष काठमाडौं महानगरपालिका–२८ मा सामूहिक रूपमा म्हःपूजा आयोजना गरिएको छ। आयोजक किरण चित्रकारको पहलमा भएको सामूहिक पूजामा स्थानीयसँगै घरमा म्हःपूजा गर्न नपाएका व्यक्तिहरू पनि सहभागी भएका थिए।
सामूहिक पूजामा सहभागी प्रकाश चित्रकारका अनुसार पछिल्लो समय परिवारका सदस्यहरू रोजगारी तथा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै घरमा चाडपर्व मनाउन र परम्परागत विधि पूरा गर्न जनशक्तिको अभाव हुन थालेको छ। म्हःपूजाको विधि लामो र केही जटिल भएकाले चाहना हुँदाहुँदै पनि कतिपयले पूजा गर्न नसक्ने अवस्था रहेको उनले बताए।
यही अवस्थालाई ध्यानमा राखेर आयोजक किरण चित्रकारले चार–पाँच वर्षअघिदेखि सामूहिक म्हःपूजाको प्रयास गर्दै आएको र यस वर्ष त्यसले मूर्त रूप लिएको प्रकाशले बताए। सामूहिक पूजाले म्हःपूजा गर्न नपाएका व्यक्तिलाई पनि आफ्नो संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने उनको भनाइ छ।
प्रकाशका अनुसार म्हःपूजा शरीरको पूजा गर्ने विधिमा मात्र सीमित छैन। यसलाई वर्षभरि आफूले गरेका कामको आत्मसमीक्षा गर्ने अवसरका रूपमा पनि लिनुपर्छ। जानेर वा नजानेर भएका गल्तीप्रति क्षमायाचना गर्दै आगामी दिनमा कसैलाई हानि नपुर्याउने र सकारात्मक सोचका साथ अघि बढ्ने सङ्कल्प गर्नु नै म्हःपूजाको मूल भावना भएको उनले बताए।
नेपाल संवत्को नयाँ वर्षसँगै मनाइने म्हःपूजा नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको पर्व हो। राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यतासँग जोडिएको यस पर्वले आत्मसम्मान, आत्मशुद्धि र सकारात्मक जीवनको सन्देश दिने विश्वास गरिन्छ।
