Site icon Street Nepal

इटहरीमा नेपथ्यको ऐतिहासिक कन्सर्ट सम्पन्न

इटहरी । नेपाली सङ्गीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ। इटहरी रङ्गशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो।


नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न पूर्वी नेपालका विभिन्न स्थानबाट सङ्गीतप्रेमीहरू इटहरी रङ्गशालामा पुगेका थिए। लामो समयदेखि रेडियो, टेलिभिजन तथा डिजिटल माध्यमबाट नेपथ्यका गीत सुन्दै आएका दर्शकले आफ्नै सहरमा ब्यान्डलाई प्रत्यक्ष हेर्न पाउँदा उत्साहपूर्वक सहभागिता जनाएका थिए।


पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा सम्पन्न कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। करिब १० हजार दर्शक क्षमताको व्यवस्थापनसहित तयारी गरिएको रङ्गशालामा अपेक्षाभन्दा बढी सङ्ख्यामा दर्शक सहभागी भएको बताइएको छ।


तीन दशकभन्दा लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजारमा’, ‘रेशम’ र ‘भेडाको ऊनजस्तो’ लगायतका चर्चित गीतमा दर्शकले साथ दिएका थिए।


लोकभाका र आधुनिक वाद्यवादनको संयोजनमार्फत नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएको नेपथ्यको इटहरीमा यो पहिलो प्रत्यक्ष प्रस्तुति हो। त्यसैले पनि यो कन्सर्टलाई पूर्वी नेपालका सङ्गीतप्रेमीका लागि विशेष सांगीतिक अवसरका रूपमा हेरिएको थियो।


आयोजकले यसअघि नै नेपथ्यको इटहरी प्रस्तुति पुनः नहुन पनि सक्ने सम्भावना व्यक्त गरेपछि कार्यक्रमप्रति दर्शकको चासो थप बढेको थियो। पहिलोपटक इटहरी आएको नेपथ्यको यो प्रस्तुतिले सहरको सांगीतिक माहोललाई उत्सवमय बनाएको छ।

नवीन गड्तौला/नेपाल फोटो लाइब्रेरी

Exit mobile version