तिहार नजिकिएसँगै सुन तथा चाँदीका सिक्का खरिद गर्ने सर्वसाधारणको चहलपहल बढेको छ। नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको लामो लाइन लागेको छ।
राष्ट्र बैंकले बिहीबारदेखि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको हो। धनतेरस तथा लक्ष्मीपूजाका अवसरमा सुनचाँदीका सिक्का किन्ने परम्पराअनुसार खरिदका लागि सर्वसाधारण टक्सार पुगेका हुन्।
राष्ट्र बैंकको व्यवस्थाअनुसार एक व्यक्तिले २.५ ग्रामको एउटा सुनको असर्फी खरिद गर्न पाउनेछन्। त्यस्तै, लक्ष्मी र गणेश अंकित १० ग्रामका दुईवटा चाँदीका मेडालियन पनि किन्न पाउने व्यवस्था छ।
राष्ट्र बैंकले सर्वसाधारणका लागि शुक्रबारसम्म सिक्का बिक्री गर्ने जनाएको छ।
धनतेरसमा सुनचाँदी खरिद गर्ने र लक्ष्मीपूजामा सिक्का पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्पराका कारण तिहारमा यस्ता सिक्काको माग बढ्ने गरेको छ।
