Site icon Street Nepal

८३ वर्षमा पनि समुदायको सेवामा सक्रिय कमला कार्की

उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सक्रियता र सेवाभावमा कमी आएको छैन। तीन दशकभन्दा लामो समय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा बिताएकी उनी अहिले पनि आफ्नो समुदायमा स्वास्थ्य जनचेतना फैलाउने अभियानमा सक्रिय छिन्।

काठमाडौं महानगरपालिका–१५, तुलसीधाराकी कार्कीले २०५५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेकी हुन्। आफ्नो टोलका कुनै पनि बालबालिका भिटामिन ‘ए’ र पोलियो खोपबाट वञ्चित नहून् भन्ने सोचले आफू स्वयंसेवामा लागेको उनी बताउँछिन्।

‘हाम्रो एरियामा भिटामिन ‘ए’ र पोलियो खुवाउँदा कोही नछुटून् भन्ने लाग्थ्यो। सेवा गर्ने भावनाले तालिम लिएर यो काममा लागेँ,’ उनले भनिन्।

समुदायको स्वास्थ्य सेवामा लामो समय योगदान पुर्‍याएकी कार्कीलाई २०८० सालमा काठमाडौं महानगरपालिकाले सम्मान गरेको थियो। त्यसबेला उनी ८० वर्षकी थिइन्। सोही वर्ष उनी औपचारिक रूपमा सेवाबाट सेवानिवृत्त भइन्।

तर, अवकाशपछि पनि उनको सक्रियता रोकिएको छैन। अहिले पनि आफूले सकुञ्जेल समुदायका लागि काम गरिरहेको उनी बताउँछिन्। भिटामिन ‘ए’ खुवाउने अभियानदेखि डेङ्गुसम्बन्धी जनचेतनामूलक कार्यक्रममा समेत उनी सहभागी हुँदै आएकी छन्।

औपचारिक जिम्मेवारीबाट अवकाश पाए पनि समाजप्रतिको दायित्व पूरा गर्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी छन्, कमला कार्की।

Exit mobile version