Feature

दशैँमा निःशुल्क सञ्चालनमा आउने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

avatar
Street Nepal

An editor at streetnepal


  • September 21, 2025
  • 4489 पटक पढिएको

नागढुंगा–सिस्नेखोला सुरूङ मार्ग दसैंअघि नै सञ्चालनमा ल्याइने भएको छ।

चाडपर्वमा हुने सवारी चाप हेरेर दसैंअघि नै सुरूङ मार्ग सञ्चालनमा ल्याउन सडक विभागले निर्माण कम्पनीसँग समन्वय गरेको छ।

सञ्चालनको अन्तिम तयारीमा रहेको सुरूङ मार्ग, राजमार्ग जोड्ने सिस्ने खोला र बलम्बु फ्लाइओभरमा बत्ती जडान र रङरोगनको काम पूरा गरिसकेको छ। चाडपर्व सुरूङ मार्ग नि:शुल्क प्रयोग गर्न मिल्ने विभागले जनाएको छ।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैं अवधिमा काठमाडौं बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा-सिस्नेरी सुरूङ मार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको बैठकमा उनले उक्त निर्देशन दिएका हुन्।

उक्त बैठकले देशभरका सडक अवस्थाबारे २४ घन्टा निगरानी, आवश्यक समन्वय र व्यवस्थापनका लागि सम्पर्क व्यक्तिसहित कन्ट्रोल रूम सञ्चालन गर्न पनि सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ।

त्यस्तै, नयाँ बसपार्कसहित मुलुकका विभिन्न राजमार्गमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री घिसिङले बताएका छन्।

Facebook Comments