विकासको नाममा पुराना घर भत्किँदै छन्।
मौलिक वास्तुकला हराउँदै छ।
आधुनिक कंक्रिटका संरचनाले गाउँबस्तीका परम्परागत घर, आँगन र पिँढीलाई विस्थापित गरिरहेका छन्।
नयाँ पुस्ता आधुनिक जीवनशैलीतर्फ आकर्षित भइरहँदा पुर्खाले छाडेर गएका इतिहास, संस्कृति र सभ्यताका चिनोहरू विस्तारै ओझेलमा पर्दै छन्। तर, यही समय पर्वतको कुश्मामा भने तीन सय वर्ष पुरानो एउटा घरले पुर्खाको इतिहास मात्र जोगाइरहेको छैन, नयाँ पुस्तालाई आफ्नो मौलिकता चिनाउने अभियान पनि चलाइरहेको छ।
पर्वतको कुश्मा नगरपालिका–७, माझगाउँस्थित यो घर हो– ‘शताब्दी घर’।
करिब तीन सय वर्ष पुरानो पुर्ख्यौली घरलाई संरक्षण गर्दै त्यसलाई जीवन्त सांस्कृतिक सम्पदाका रूपमा विकास गर्ने अभियानमा जुटेका छन् फोटो पत्रकार तथा सामाजिक अभियन्ता आरके अदिप्त गिरी।
गिरीका लागि यो घर केवल ढुंगा, माटो, काठ र पुराना संरचनाले बनेको एउटा भवन होइन। यो त पुर्खाको पसिना, संघर्ष, जीवनशैली र सभ्यताको साक्षी हो। यही घरको भित्तामा विगतका पुस्ताको कथा छ, आँगनमा बाल्यकालका सम्झना छन् र हरेक कुनामा आफ्नो माटो तथा मौलिकताको अनुभूति छ। त्यसैले उनले समयसँगै जीर्ण बन्दै गएको पुर्ख्यौली घरलाई भत्काएर नयाँ संरचना बनाउने बाटो रोजेनन्। बरु पुरानै स्वरूप र पहिचान जोगाउँदै त्यसलाई नयाँ पुस्ताका लागि उपयोगी बनाउने संकल्प गरे।
‘समाज धुर र आँगनमा खुम्चिँदै गर्दा र हाम्रा आफ्नै लाग्ने घरहरू हराउँदै जाँदा हामीले बिर्संदै गएको मौलिकता र अपनत्वको खोजीस्वरूप शताब्दी घरको परिकल्पना गरिएको हो,’ गिरी आफ्नो अभियानको उद्देश्य सुनाउँछन्।
तीन सय वर्ष पुरानो घरलाई संरक्षण गर्नु आफैँमा चुनौतीपूर्ण काम थियो। तर, गिरीको सोच घरको भौतिक संरचना जोगाउनेमा मात्र सीमित रहेन। उनले यसलाई पुर्खाको जीवनशैली, इतिहास, कला, संस्कृति र परम्परा बुझ्न सकिने एउटा खुला संग्रहालयका रूपमा विकास गर्न थाले। अहिले शताब्दी घरभित्र पुर्खाका पालाका अस्त्र–शस्त्र, परम्परागत वस्त्र, घरायसी सामग्री तथा हिमाल, पहाड र तराईका विभिन्न समुदायका सांस्कृतिक परम्परा झल्काउने सामग्रीहरू संग्रह गरिएका छन्।
यहाँ पुग्ने जोकोहीले पुराना सामग्री हेर्न मात्र होइन, विगतको समाज कस्तो थियो, मानिसहरूको जीवनशैली कस्तो थियो र उनीहरूले आफ्नो दैनिक जीवन कसरी चलाउँथे भन्ने कुरा बुझ्ने अवसर पाउँछन्। एउटा पुस्ताले भोगेको जीवन अर्को पुस्ताले देख्न र अनुभूत गर्न सक्ने ठाउँका रूपमा शताब्दी घर विकास हुँदैछ। गिरी यसलाई ‘इन्टेन्जिबल हेरिटेज म्युजियम’ अर्थात् अमूर्त सांस्कृतिक सम्पदासमेत जोडिएको संग्रहालयका रूपमा विस्तार गर्न चाहन्छन्।
शताब्दी घरको विशेषता यसको पुरानो संरचना र संग्रहमा मात्र छैन। यसलाई जीवन्त सांस्कृतिक केन्द्र बनाउने प्रयास पनि उत्तिकै महत्त्वपूर्ण छ। यहाँ रैथाने खानपान, कला, साहित्य, नाटक र सिर्जनात्मक गतिविधिलाई एउटै परिसरमा जोड्ने योजना अघि बढाइएको छ। त्यसैका लागि आमा भान्छा घर, चियाघर, नाटक घर र पाहुनाघर निर्माण भइरहेका छन्।
यी संरचना तयार भएपछि शताब्दी घर केवल घुम्न र पुराना सामग्री अवलोकन गर्न पुग्ने ठाउँमा सीमित रहने छैन। स्थानीय स्वादका परिकार चाख्ने, कला तथा साहित्यका गतिविधिमा सहभागी हुने, नाटक हेर्ने र सिर्जनात्मक बहस गर्ने साझा थलोका रूपमा विकास हुने अपेक्षा गरिएको छ। विशेषगरी स्थानीय प्रतिभा भएका युवाहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने, नयाँ कुरा सिक्ने र सिर्जना गर्ने अवसर पाउने गिरीको विश्वास छ।
विकास र आधुनिकताको गतिसँगै हामीले आफ्नै मौलिकता बिर्संदै गएको गिरीको बुझाइ छ। नयाँ घर बनाउने रहरमा पुराना घर भत्काउने, आधुनिक सामग्रीको प्रयोगमा परम्परागत वास्तुकला विस्थापित गर्ने र आफ्नै संस्कार तथा रीतिरिवाजलाई पुरानो सोच ठान्ने प्रवृत्तिले सांस्कृतिक पहिचान कमजोर बनाउँदै लगेको छ। यही अवस्थाप्रति चिन्तित गिरी आफ्नो पुर्ख्यौली घरबाटै एउटा फरक सन्देश दिन चाहन्छन्।
उनका लागि सम्पदा संरक्षण भनेको विगतमा फर्कनु होइन, विगतबाट सिकेर भविष्य निर्माण गर्नु हो। पुर्खाले निर्माण गरेका घर, प्रयोग गरेका सामग्री र अपनाएका जीवनशैलीमा इतिहास मात्र होइन, ज्ञान र अनुभव पनि लुकेको हुन्छ। त्यसलाई जोगाउन सके मात्र भावी पुस्ताले आफ्नो समाज र सभ्यताको वास्तविक परिचय पाउन सक्छ।
‘सभ्यता र सम्पदाबिनाको सहर एउटा खण्डहर हो। हामीले जोगाएका संस्कृति, सभ्यता र सम्पदा नै भोलि हाम्रा सन्ततिले हेर्ने आँखीझ्याल बन्न सक्छन्,’ गिरी भन्छन्।
उनको यही सोच अहिले शताब्दी घरको हरेक गतिविधिमा देखिन्छ। विगत तीन वर्षदेखि उनी यही अभियानलाई अघि बढाउन निरन्तर खटिरहेका छन्। उनले यसलाई पूरा भइसकेको परियोजनाभन्दा पनि निरन्तर निर्माण र सिर्जनाको प्रक्रियाका रूपमा लिएका छन्। त्यसैले शताब्दी घरलाई उनी ‘आर्ट इन प्रोग्रेस’ अर्थात् निरन्तर सिर्जनामा रहेको कलाकर्मका रूपमा व्याख्या गर्छन्।
यो प्रयासले अहिले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान पनि तान्न थालेको छ। साहसिक पर्यटनका लागि परिचित कुश्मामा शताब्दी घरले सांस्कृतिक पर्यटनको नयाँ सम्भावना थपेको छ। पर्यटकहरू यहाँ पुग्दा कुनै अपरिचित संग्रहालयमा प्रवेश गरेको भन्दा आफ्नै मामाघर वा फुपूघर पुगेको अनुभूति गर्ने गरेको गिरी बताउँछन्। पुरानो घरको आत्मीय वातावरण, काठका संरचना, परम्परागत पिँढी, मजेरी र सिकुवाले उनीहरूलाई बाल्यकाल र पुर्खाको घरको सम्झना दिलाउँछन्।
वास्तवमा शताब्दी घरको अर्को सुन्दर पक्ष पनि यही हो। आधुनिक संग्रहालयमा देखिने औपचारिकता र दूरीभन्दा यहाँ आत्मीयता भेटिन्छ। घरको बनोट, आँगन र प्रयोग गरिएका पुराना सामग्रीले मानिसलाई आफ्नै विगतसँग जोड्छन्। यही अनुभूतिले शताब्दी घरलाई अरू पर्यटकीय गन्तव्यभन्दा फरक बनाएको छ।
साहसिक पर्यटनका लागि परिचित कुश्मामा बन्जी जम्प, अग्ला पुल र प्राकृतिक दृश्य हेर्न पुग्ने पर्यटकका लागि अब शताब्दी घर पनि नयाँ आकर्षण बनेको छ। यसले कुश्माको पर्यटनलाई मनोरञ्जन र साहसिक गतिविधिमा मात्र सीमित नराखी इतिहास, संस्कृति र मौलिक जीवनशैलीसँग जोड्ने काम गरिरहेको छ।
पोखराबाट सवारीसाधनमा करिब सवा घण्टाको यात्रापछि पुग्न सकिने कुश्माको शिवालय चोकबाट करिब एक मिनेट पैदल दूरीमै शताब्दी घर अवस्थित छ। मुस्ताङ जाने यात्रुहरूको प्रमुख ट्रान्जिटसमेत रहेको कुश्मामा आउने पर्यटकका लागि यो सहजै पुग्न सकिने सांस्कृतिक गन्तव्य हो।
आज शताब्दी घरको संरक्षण र विस्तारसँगै गिरीले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाइरहेका छन्– आधुनिक बन्ने होडमा हामीले आफ्नो विगतलाई कति जोगाइरहेका छौँ? नयाँ पुस्तालाई हामीले कस्ता घर, कस्तो संस्कृति र कस्तो पहिचान हस्तान्तरण गर्दैछौँ?
उनको अभियानको उत्तर यही तीन सय वर्ष पुरानो घरमा भेटिन्छ। पुरानो घर जोगाउनु भनेको केवल भत्किन लागेको संरचना जोगाउनु होइन, त्यससँग जोडिएका कथा, सम्झना, संस्कृति र सभ्यतालाई पनि बचाउनु हो। गिरीका लागि पुर्खाको घर संरक्षण गर्नु एउटा सामाजिक दायित्व मात्र नभएर कर्मसाधना हो।
‘कला र संस्कृति नै हाम्रा सक्कली प्रमाण हुन्। यी नै नासिए भने हाम्रो परिचय र प्रमाण पनि सँगसँगै नासिनेछन्,’ उनी भन्छन्।
तीन सय वर्षअघि पुर्खाले बनाएको घर आज नयाँ पुस्ताका लागि इतिहास पढ्ने, संस्कृति बुझ्ने र आफ्नो पहिचान खोज्ने थलो बन्दैछ। समय बदलिँदै जाँदा घरहरू फेरिन सक्छन्, जीवनशैली बदलिन सक्छ र समाज नयाँ बाटोमा अघि बढ्न सक्छ। तर, आफ्नो जरा र पहिचान जोगाउन सकियो भने मात्रै विकासले पूर्णता पाउँछ भन्ने सन्देश शताब्दी घरले दिइरहेको छ।
कुश्माको माझगाउँमा उभिएको यो पुरानो घर त्यसैले एउटा परिवारको सम्पत्ति मात्र रहेन। यो पुर्खाको सम्झना जोगाउने, वर्तमानलाई आफ्नो मौलिकतासँग जोड्ने र भावी पुस्ताका लागि सांस्कृतिक सम्पदा हस्तान्तरण गर्ने एउटा सुन्दर प्रयास बनेको छ।
तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

