Site icon Street Nepal

इच्छाकामना मन्दिर परिसरमा रहेको सिद्धबाबा थानको जिर्णोद्वार सम्पन्न, अध्यक्ष गुरुङद्वारा समुद्घाटन

चितवनको इच्छाकामना गाउँपालिका ५ मा रहेको प्रसिद्ध धार्मिक स्थल इच्छाकामना माईको मन्दिर परिसरमा रहेको सिद्धबाबा थान मन्दिरको जिर्णोद्वार सम्पन्न भएको छ ।

इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ मा विनियोजित ९ लाख रुपैयाँको लागतमा पुरात्वातिक शैलिमा मन्दिरको जिर्णोद्वार गरिएको हो ।


मन्दिरको जिर्णोद्वार सम्पन्न भएसँगै इच्छाकामना पञ्चमी मेलाको अवसरमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आज शनिबार क्षमा पूजा सहित समुद्घाटन गरिएको छ ।

समुद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्री, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, वडा नं. ५ का वडासदस्य तारा गुरुङ लगायत मन्दिर संरक्षण समितिका पदाधिकारी, भक्तजन लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।


स्थानीयको आस्थाको धरोहरको रुपमा सदियौ पहिलेदेखि स्थानीयहरुले पूजाआजा गर्दै आईरहेको उक्त मन्दिर वि. सं. २०५५ सालमा तात्कालिन सांसद काशिनाथ अधिकारीको सांसद विकास कोषको १५ हजार रुपैयाँ र स्थानीयको जनश्रमदान, देउँसी भैलो खेलेर संकलन गरिएको रकमबाट पुनःनिर्माण गरिएको थियो । साथै इच्छाकामना गाउँपालिकाकै आर्थिक वर्ष २०७४÷०७५ मा ३ लाख रुपैयाँ बजेट बिनियोजित गरि पूनःनिर्माण गरिएको थियो ।


पछिल्लो समय इच्छाकामना माईको मन्दिर परिसरमा भक्तजनहरुको आगमन वृद्वि भएसँगै अहिले भने मन्दिरलाई पुरात्वातिक शैलिमा आकर्षक रुपमा निर्माण गरिएको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।


इच्छाकामना मन्दिर परिसरमा आज रातभर भव्य मेला (जात्रा) लाग्दैछ । रातभर मेला लागेसँगै भोली बिहान पञ्चमीको दिन गाउँपालिकाको आर्थिक सहयोगमा इच्छाकामना सिद्धबाबा मन्दिर संरक्षण समितिले पञ्चबली सहित भव्य पूजा पनि गर्दैछ ।

Exit mobile version