Site icon Street Nepal

चार सय वर्षदेखि जीवित पाटनको कार्तिक नाच

मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको झल्को दिने ऐतिहासिक कार्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु भएको छ। करिब चार सय वर्ष पुरानो इतिहास बोकेको यो नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने भएको छ।

कार्तिक नाच संरक्षण समितिका अनुसार कात्तिक २७ देखि मंसिर ८ गतेसम्म हरेक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा नाच प्रदर्शन भइरहेको छ।

नेपाल संवत् ७६१ (विसं १६९७) मा तत्कालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गराएको कार्तिक नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला तथा धार्मिक आख्यानलाई नृत्य र नाट्यका माध्यमबाट प्रस्तुत गरिन्छ।

यस वर्षको प्रदर्शनमा भक्त सुरदास प्याखं, माधवानल लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण र दधि लीलालगायत प्रस्तुति समावेश छन्। यी प्रस्तुतिमार्फत मल्लकालीन नाट्यकला, धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त राख्ने प्रयास गरिएको छ।

चार शताब्दी लामो इतिहास बोकेको कार्तिक नाचको संरक्षण र निरन्तरताका लागि कार्तिक नाच संरक्षण समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ। यस वर्ष नाच सञ्चालनका लागि ललितपुर महानगरपालिका–१६ ले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

ऐतिहासिक स्वरूपअनुसार कार्तिक नाचलाई पुनः २७ दिनसम्म सञ्चालन गर्ने र विश्वको अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत गराउने तयारीसमेत भइरहेको समितिले जनाएको छ।

पाटनको ऐतिहासिक पहिचानसँग जोडिएको कार्तिक नाच केवल मनोरञ्जनको प्रस्तुति मात्र नभई नेपालको मौलिक नाट्यकला, धार्मिक विश्वास र नेवार सांस्कृतिक सम्पदाको जीवन्त अभिव्यक्ति पनि हो। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो परम्पराले आज पनि पाटनको सांस्कृतिक वैभवलाई जीवन्त राखिरहेको छ।

तस्विर : नेपाल फोटो लाईब्रेरी

Exit mobile version