News
मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै माइतीघरमा प्रदर्शन
- November 18, 2026
- 16 पटक पढिएको
ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथीभरा देवी दर्शन केबलकार आयोजना खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरिएको छ।
मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा केबलकार निर्माण तत्काल रोक्न र आयोजना खारेज गर्न सरकारसँग माग गरिएको छ।
समितिले आन्दोलनका क्रममा भएका भनिएका दमन तथा मानवअधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन, आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेजी तथा घाइतेको उपचार र जीविकोपार्जनको व्यवस्था गर्न पनि माग गरेको छ।
मुक्कुमलुङ मुन्धुमी आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको क्षेत्र भएकाले स्थानीय समुदायको स्वतन्त्र सहमतिबिना कुनै पनि आयोजना अघि बढाउन नहुने समितिको भनाइ छ। आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई निरन्तरता दिने समितिले चेतावनी दिएको छ।








