Site icon Street Nepal

अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर २०२६’ सम्पन्न

ललितपुर । ऐतिहासिक वास्तुकलाको मौलिकता कसरी जोगाउने, परम्परागत शिल्पलाई आधुनिक निर्माणसँग कसरी जोड्ने र बदलिँदो प्रविधिबाट वास्तुकलामा कस्ता सम्भावना सिर्जना गर्ने ? यिनै प्रश्नको उत्तर खोज्दै नेपालमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सिम्पोजियम ‘पाथफाइन्डर २०२६’ आयोजना गरिएको छ ।

आइतबार भएको सम्मेलनमा नेपाल, स्पेन, भारत र इटालीका आर्किटेक्ट तथा प्रविधि विशेषज्ञहरू एकैथलोमा जुटेका थिए । तीन सयभन्दा बढी आर्किटेक्ट र इन्जिनियर सहभागी सम्मेलनमा ऐतिहासिक सम्पदा संरक्षणदेखि निर्माण सामग्रीमा भइरहेका नवीन प्रयोगसम्मका विषयमा गहन छलफल भयो ।

भिट्रिफाइड टायल ब्रान्ड लामिनारको आयोजनामा ‘एक्सप्लोरिङ आइडियाज, इन्स्पायरिङ डिजाइन’ नारासहित सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रममा आर्किटेक्ट, इन्टेरियर डिजाइनर, प्राज्ञिक क्षेत्र, निर्माण उद्योग तथा पूर्वाधार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको वास्तुकला र निर्माण अभ्याससँग जोड्ने अवसरका रूपमा सम्मेलनलाई लिइएको थियो ।

सम्मेलनका मुख्य वक्ता स्पेनका आर्किटेक्ट पाउ मिलेट लोपेजले बार्सिलोनाको विश्वप्रसिद्ध साग्रादा फामिलिया चर्च निर्माणसँग जोडिएको अनुभव सुनाए । पाँच वर्ष चर्चको प्राविधिक कार्यालयमा प्रमुख आर्किटेक्ट रहेका उनी छवटा केन्द्रीय टावरको डिजाइन र निर्माण व्यवस्थापनमा संलग्न थिए । ऐतिहासिक परिकल्पनाको सम्मान गर्दै आधुनिक इन्जिनियरिङ र निर्माण विधि अपनाउनु चुनौतीपूर्ण भए पनि आवश्यक रहेको उनले बताए ।

सन् १८८२ मा निर्माण सुरु भएको चर्चलाई एन्टोनी गौडीले विशिष्ट स्वरूप दिएका थिए । सन् १९२६ मा गौडीको निधन भए पनि उनको प्रकृतिप्रेरित डिजाइनअनुसार निर्माण अघि बढिरहेको छ । गौडीको निधनको सय वर्ष पुगेकै वर्ष चर्चको सबैभन्दा अग्लो टावरको बाहिरी संरचना पूरा भएको प्रसंग उल्लेख गर्दै लोपेजले यसलाई पुस्तौँको साझा प्रतिबद्धताको उदाहरण बताए ।

स्पेनको गृहयुद्धमा धेरै अभिलेख नष्ट भए पनि जोगिएका प्लास्टर नमुनाका करिब १६ हजार टुक्राको डिजिटल अध्ययनले पुरानो डिजाइन बुझ्न र निर्माणलाई निरन्तरता दिन सहयोग गरेको उनले सुनाए । विशाल परियोजनाको सफलताका लागि सिर्जनशीलतासँगै योजना, व्यवस्थापन र विशेषज्ञहरूको समन्वय उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

लोपेजले भारतीय आर्किटेक्ट अमेय दलालसँग मिलेर गुजरातको कच्छमा अघि बढाइरहेको ‘सोमैया कला विद्या आर्टिजन्स युनिभर्सिटी’ परियोजनाको अनुभव पनि प्रस्तुत गरे । स्थानीय सामग्री र परम्परागत शिल्पकलालाई आधुनिक वास्तुकलासँग जोडिएको उक्त परियोजनाले मौलिक सीप र नयाँ प्रविधि एकअर्काका पूरक बन्न सक्ने उदाहरण प्रस्तुत गरेको उनले बताए ।

कार्यक्रमका अध्यक्ष तथा नेपाली आर्किटेक्ट एवं सहरी योजनाविद् वीरेश शाहले सम्मेलन भव्य रूपमा सफल भएको बताए । नेपालमा यस किसिमको अन्तर्राष्ट्रिय आर्किटेक्चर सिम्पोजियम पहिलोपटक आयोजना भएको उल्लेख गर्दै उनले दुई सयभन्दा बढी आर्किटेक्ट र इन्जिनियरको उत्साहजनक सहभागिताले यसको महत्त्व पुष्टि गरेको बताए ।

शाहले निर्माण सामग्रीको उत्पादनमा भइरहेका परिवर्तनबारे आर्किटेक्ट र डिजाइनर जानकार रहनुपर्ने आवश्यकता औँल्याए । नेपालमा उच्च गुणस्तरका सिरेमिक टायललगायत सामग्रीको उत्पादन विस्तार भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले उद्योग, प्रविधि र डिजाइनबीचको सहकार्यले नयाँ सम्भावनाका ढोका खोल्ने धारणा राखे ।

इटालीको सिस्टम सेरामिक्सका फ्रान्चेस्को पियानीले सिरेमिक उद्योगमा आएको प्राविधिक परिवर्तनबारे प्रस्तुति दिए । रोटोकोलर, लाम्जिया, सुपरफास्ट र क्रिएडिजिटजस्ता प्रविधिले डिजिटल प्रिन्टिङ, स्वचालन तथा ठूला आकारका स्ल्याब उत्पादनलाई नयाँ उचाइ दिएको उनले बताए । पहिले भुइँ र भित्तामा सीमित सिरेमिक सामग्री अहिले भवनको बाहिरी आवरण, किचन काउन्टरटप, फर्निचर तथा आन्तरिक सजावटसम्म विस्तार भएको उनको भनाइ थियो ।

ठूला स्ल्याबले फराकिला सतहमा जोडाइका रेखा कम देखिने र डिजिटल प्रिन्टिङले मार्बल तथा प्राकृतिक ढुंगाको रङ र धर्सालाई सूक्ष्म रूपमा उतार्न सकिने उनले बताए । आगामी दिनमा उत्पादन प्रणाली थप स्वचालित र आवश्यकताअनुसार अनुकूलित हुँदै जाने सम्भावना उनले औँल्याए ।

इटालीकै कलरोबिया ग्रुपका एलेसियो लोन्डीले ग्लेज, ग्रिट्स र डिजिटल सजावट सामग्रीबाट सिरेमिकको सतहमा नयाँ रङ, त्रिआयामिक बनावट र प्रकाशअनुसार फरक प्रभाव सिर्जना गर्न सकिने बताए । म्याट फिनिस, टेराकोटा, टेराजो र प्राकृतिक सामग्रीबाट प्रेरित डिजाइनप्रति चासो बढिरहेको उल्लेख गर्दै उनले गुणस्तरीय उत्पादनका लागि निरन्तर अनुसन्धान, परीक्षण र उद्योग–डिजाइनर सहकार्य आवश्यक रहेको बताए ।

आयोजक लामिनारका अनुसार कम्पनीले आफ्ना टायल उत्पादनमा सिस्टम सेरामिक्सको क्रिएडिजिट डिजिटल प्रिन्टर तथा कलरोबिया ग्रुपका ग्लेज, ग्रिट्स र डिजिटल सजावट सामग्री प्रयोग गर्दै आएको छ । यसले अन्तर्राष्ट्रिय स्तरका प्रविधि नेपाली उत्पादन उद्योगमा पनि प्रयोग भइरहेको सन्देश दिएको छ ।

मुख्य प्रस्तुतिपछि लोपेज, दलाल र शाहबीच भएको अन्तरक्रियामा ऐतिहासिक वास्तुकलाको संरक्षण, स्थानीय शिल्पकलाको उपयोग र नयाँ निर्माण सामग्रीको उपयुक्त छनोटबारे विचार आदानप्रदान भयो । अन्तर्राष्ट्रिय अनुभवलाई नेपाली आवश्यकता र मौलिक पहिचानसँग जोड्दै वास्तुकला तथा निर्माण क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Exit mobile version