Site icon Street Nepal

पर्यटकको रोजाईमा गुरुङ संस्कृतिको खुल्ला संग्राहलय सिक्लेस

कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेस तमु गुरुङ समुदायको मौलिक संस्कृति, इतिहास र परम्परा बोकेको सुन्दर गाउँ हो। करिब ५०० घर एकै किसिमको परम्परागत बनोटमा बनेर एकै ठाउँमा फैलिएको यो गाउँ गुरुङ समुदायको पहिचान र जीवनशैली नियाल्न सकिने खुला सङ्ग्रहालयका रूपमा समेत परिचित छ।

ढुङ्गाले छाएका घर, सफा गल्ली, वरिपरिका हरिया पहाड र हिमाली दृश्यले सिक्लेसको सुन्दरता थपेका छन्। यहाँको भाषा, भेषभूषा, संस्कार र परम्परागत रहनसहनले गुरुङ संस्कृति जीवन्त बनाएको छ। घाटु, सोरठीलगायत मौलिक नाचगान यहाँको सांस्कृतिक पहिचान हुन्। गुरुङ समुदायको इतिहास र पैतृक थलो क्होलासोथरसँग जोडिएको सिक्लेस सांस्कृतिक अध्ययनका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ।

यही प्राकृतिक सुन्दरता र मौलिक संस्कृति नियाल्न पछिल्लो समय सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या बढेको छ। गत बिहिबार एकैदिन १ हजार ७० जना पर्यटक सिक्लेस पुगेका थिए। बिहीबार पर्यटकको सङ्ख्या बढेर १ हजार ३२४ पुगेको छ।

२०८३ साल कात्तिक २६ गते बिहीबारको पर्यटक विवरणअनुसार सिक्लेस पुगेका १ हजार ३२४ जनामध्ये ७०१ जना पुरुष र ६२३ जना महिला थिए। तीमध्ये नौ जना अन्तर्राष्ट्रिय पर्यटक रहेको तथ्याङ्क छ। बिहीबारदेखि शनिबारसम्म पनि पर्यटकको आगमन उत्तिकै रहेको रेकर्ड गरिएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले स्ट्रिट नेपाललाई बताए।

पूर्वबुकिङ नगरी एकैपटक ठूलो सङ्ख्यामा पर्यटक आउँदा स्थानीय होटल तथा होमस्टेमा बसोबास व्यवस्थापन गर्न समस्या भएको छ। पर्यटकको चाप बढेपछि वडाध्यक्ष गुरुङले केही दिनअघि सामाजिक सञ्जालमा लाइभमार्फत सिक्लेस घुम्न आउनुअघि होटल तथा होमस्टेमा बुकिङ गरेर मात्र आउन आग्रह गरेका थिए। पर्यटकको बढ्दो चापअनुसार बसोबास व्यवस्थापन गर्न कठिनाइ हुन थालेपछि यस्तो आग्रह गर्नुपरेको उनले बताएका छन्।

सिक्लेसमा रहेका सामुदायिक होमस्टे, स्थानीय परिकार र आत्मीय आतिथ्यले पर्यटकलाई गाउँको जीवनशैलीसँग नजिक बनाउँछन्। यहाँ आउने धेरै पर्यटक क्हफुचे हिमताल र कोरी क्षेत्रतर्फ पदयात्रा गर्न पनि पुग्छन्।

प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति, ऐतिहासिक विरासत र परम्परागत गाउँले जीवनशैलीका कारण सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय गन्तव्य बनेको छ।

default
default
default
default
default
Exit mobile version