टेकुमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्ट पुनः सञ्चालनमा
- November 26, 2026
- 10 पटक पढिएको
काठमाडौंको टेकुस्थित लामो समयदेखि बन्द रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्ट पुनः सञ्चालनमा आएको छ। काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा प्लान्टको पुनर्निर्माण सम्पन्न गरी बुधबार परीक्षण सञ्चालनसहित महानगरपालिकालाई हस्तान्तरण गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रममा प्लान्टको परीक्षण सञ्चालन र हस्तान्तरण गरिएको हो।
युरोपेली युनियनको सहयोगमा सन् २०१७ मा स्थापना भएको उक्त प्लान्ट सञ्चालनमा आउन नसकेपछि लामो समयदेखि बन्द थियो। प्लान्टलाई पुनः सञ्चालनमा ल्याई दिगो व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच गत साउन १८ गते समझदारी भएको थियो। सोही समझदारीअनुसार पुनर्निर्माणको काम सम्पन्न गरिएको केन्द्रले जनाएको छ।
कार्यक्रममा मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोड्नु सहरी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्थानीयस्तरमा उपलब्ध जैविक स्रोतको उपयोग गरी ऊर्जा उत्पादन गर्न सके पेट्रोलियम पदार्थको आयात घटाउन र वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताए।
नेपालको ऊर्जा विकास जलविद्युत्मा मात्र सीमित हुन नहुने उल्लेख गर्दै उनले सौर्य ऊर्जा, बायोग्यास र फोहोरबाट ऊर्जा उत्पादनजस्ता नवीकरणीय स्रोतको विकास तथा उपयोगलाई पनि प्राथमिकता दिनुपर्ने बताए।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले परियोजनाको काम निर्धारित समयमै सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गर्ने बताइन्।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले प्लान्टको पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको जानकारी दिँदै परियोजनामा सहयोग गर्ने महानगरपालिका, विश्व बैंक तथा निर्माण र जडानमा संलग्न कम्पनीप्रति आभार व्यक्त गरे।
विश्व बैंकको सहयोगमा सन् २०१४ देखि सञ्चालन हुँदै आएको नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत नेपालका विभिन्न नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना अघि बढाइएको छ। हाल विश्व बैंककै मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत सातवटा नगरपालिकामा यस्ता परियोजना कार्यान्वयनमा रहेको केन्द्रले जनाएको छ। साथै, २० भन्दा बढी ठूला क्षमताका व्यावसायिक बायोग्यास परियोजनालाई पनि सहयोग उपलब्ध गराइएको छ।
फोहोरबाट ऊर्जा उत्पादन गर्ने यस्ता प्लान्टले सहरमा चुनौतीका रूपमा रहेको कुहिने फोहोर व्यवस्थापनमा सहयोग पुर्याउनुका साथै बायोग्यास र जैविक मल उत्पादन गर्न सक्नेछन्। यसबाट वातावरण संरक्षण र चक्रीय अर्थतन्त्रको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।


















