Fashion

ललितपुरमा ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु

avatar
Street Nepal

An editor at streetnepal


  • August 8, 2026
  • 315 पटक पढिएको

नेपाल फोटो लाइब्रेरी

जलवायु न्याय र सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउन्डेसनले ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु गरेको छ।

धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यले अन्तरपुस्ता महिलावादी मञ्चको सहकार्यमा अभियान सुरु गरिएको फाउन्डेसनले जनाएको छ। अभियान शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभाका महिला सांसद, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता छ।

फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले पछिल्ला वर्षमा बढ्दै गएको उपभोक्तावादी संस्कृतिका कारण चाडपर्वमा आवश्यकताभन्दा बढी किनमेल गर्ने, प्लास्टिकजन्य सामग्रीको प्रयोग बढाउने र खाद्यान्न खेर फाल्ने प्रवृत्ति बढ्दै गएको बताइन्।

यस्ता अभ्यास न्यूनीकरण गर्दै परम्परा र संस्कृतिको सम्मानसहित वातावरणमैत्री ढङ्गले चाडपर्व मनाउने संस्कृति विकास गर्न अभियानले जोड दिने उनको भनाइ छ।

कार्कीका अनुसार जलवायु परिवर्तन तथा वातावरणीय समस्याको प्रत्यक्ष असर महिलामाथि पनि परिरहेको छ। त्यसैले जलवायु न्याय, लैङ्गिक समानता र वातावरण संरक्षणलाई जोड्दै महिलाको नेतृत्वमा व्यवहार परिवर्तनका अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन्।

फाउन्डेसनले नेपालीको दैनिक जीवनशैलीमा चक्रीय अर्थतन्त्रको अवधारणा स्थापित गर्ने लक्ष्यसमेत राखेको छ। अभियानअन्तर्गत सन् २०२४ मा ‘ग्रीन तीज’ अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानमा सहभागी महिलाले वातावरणमैत्री पर्व मनाउने पाँचबुँदे प्रतिबद्धता व्यक्त गरेका थिए।

फाउन्डेसनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नीतिगत सुधारसँगै व्यक्ति र समुदायको व्यवहार परिवर्तनमा जोड दिँदै आएको छ। संस्थाले खाद्य सङ्कट न्यूनीकरण, लैङ्गिक समानता, जल तथा स्थल जैविक विविधता संरक्षण र सरोकारवाला निकायबीच साझेदारी प्रवर्द्धनका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ।

Facebook Comments