दुईपिप्लेमा १९औँ शनिबारे रैथाने हाटबजार [तस्विरहरु]
- November 21, 2026
- 17 पटक पढिएको
सुरज गुरुङ/लमजुङ
लमजुङको मध्यनेपाल नगरपालिका–४, दुईपिप्लेमा आज १९औँ शनिबारे मध्यनेपाल रैथाने हाटबजार सञ्चालन भइरहेको छ।
स्थानीय किसान तथा उत्पादकले गाउँघरमा उत्पादन गरेका कृषि उपज, रैथाने खाद्यवस्तु र परम्परागत सामग्री बिक्री तथा प्रदर्शनका लागि हाटबजारमा राखेका छन्। हाटबजारले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने र रैथाने वस्तुको संरक्षण तथा प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ।
निउरो, कुरिलो, स्थानीय तरकारी, कोदो, फापरलगायतका कृषि उपजदेखि परम्परागत घरेलु सामग्रीसम्म हाटबजारमा देख्न सकिन्छ। स्थानीय उत्पादनको किनबेचसँगै यहाँ गाउँको मौलिक स्वाद, सीप र जीवनशैलीसमेत झल्किन्छ।
हरेक शनिबार आयोजना हुँदै आएको यस हाटबजारले किसान, उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने प्रयास गरेको छ। १९औँ संस्करणसम्म आइपुग्दा रैथाने उत्पादनको बजार विस्तार र स्थानीय पहिचान प्रवर्द्धनमा यसको निरन्तरता महत्वपूर्ण बनेको छ।
हाटबजारमा बिक्रीका लागि राखिएका वस्तुमा स्थानीय उत्पादनसँगै सेलरोटी, मह, दूध, दही, मही तथा डोको, नाम्लो, थुन्से र ठेकीजस्ता परम्परागत सामग्री पनि पर्छन्। यसले स्थानीय उत्पादन र घरेलु सीपलाई उपभोक्तासम्म पुर्याउन सहयोग गरेको छ।



















