Feature

वीर अस्पतालका दुई भवन जोडिँदै, अब बिरामीलाई सडक पार गर्नुपर्ने छैन

काठमाडौंको वीर अस्पतालका नयाँ र पुराना भवनलाई जोड्ने गरी अत्याधुनिक आकाशे पुल निर्माण सुरु भएको छ। अस्पतालका दुई भवनबीच रहेको सडकका कारण बिरामीलाई आवतजावतमा हुँदै आएको सास्ती कम गर्ने उद्देश्यले पुल निर्माण थालिएको हो।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको पुलको बिहीबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी हुन्।

महानगरपालिकाले ४ करोड ७५ लाख रुपैयाँ लागतमा पुल निर्माण गर्न लागेको हो। २०८४ कात्तिक मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पतालका टेलिमेडिसिन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

अस्पतालको नयाँ भवनमा मुख्यतः शल्यक्रियासम्बन्धी सेवा सञ्चालन हुँदै आएको छ भने पुरानो भवनमा ओपीडी, इमर्जेन्सी, टिकट काउन्टर, ल्याबलगायत सेवा छन्। यी दुई भवनबीच करिब ७० मिटर दूरी छ। उपचारका क्रममा बिरामीले पटक–पटक सडक पार गरेर अर्को भवन पुग्नुपर्ने बाध्यता छ।

विशेषगरी शल्यक्रिया गरेका, अशक्त तथा हिँडडुल गर्न कठिनाइ भएका बिरामीलाई एउटा भवनबाट अर्को भवनमा लैजान समस्या हुँदै आएको छ।

निर्माण हुने पुल नयाँ र पुरानो भवनको दोस्रो तलामा जोडिनेछ। पुलको दुवैपट्टि लिफ्ट जडान गरिनेछ भने सेन्सरसहितको आधुनिक संरचना निर्माण गरिनेछ। यसबाट बिरामी, चिकित्सक तथा अस्पतालका कर्मचारीलाई दुई भवनबीच आवतजावत गर्न सहज हुनेछ।

त्यस्तै, धार्मिक तथा सांस्कृतिक जात्राका बेला सडकबाट रथ आवतजावतमा अवरोध नहोस् भनेर पुललाई दोस्रो तलाको उचाइमा निर्माण गर्न लागिएको हो।

महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलले पुललाई भौतिक संरचनाका रूपमा मात्र नभई बिरामीको सुरक्षा र उपचार सेवालाई सहज बनाउने महत्वपूर्ण पूर्वाधारका रूपमा लिनुपर्ने बताइन्।

पुल निर्माण सम्पन्न भएपछि वीर अस्पतालमा उपचारका लागि पुग्ने बिरामीले दुई भवनबीच आवतजावत गर्दा सडक पार गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ।

Facebook Comments