४६२ किलोमिटर रेन्ज दिने चांगान नेभो क्यू०५ बुटवल र इटहरीमा आउँदै
- November 27, 2026
- 18 पटक पढिएको
नेपाली विद्युतीय सवारी बजारमा नयाँ इलेक्ट्रिक एसयूभी थपिने भएको छ। चांगानको नयाँ इलेक्ट्रिक एसयूभी ‘नेभो क्यू०५’ आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने भएको छ। एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गत चांगानका आधिकारिक डिलर जेनोस मोटर्स र सर्वा मोटर्सले छुट्टाछुट्टै कार्यक्रममार्फत गाडी सार्वजनिक गर्न लागेका हुन्।
औपचारिक सार्वजनिक हुनुअघि नै ग्राहकले विशेष टेस्ट ड्राइभमार्फत गाडीको क्षमता, ड्राइभिङ अनुभव र सुविधाबारे जानकारी लिन सक्नेछन्।
एकपटक चार्ज गर्दा ४६२ किलोमिटर रेन्ज
नेभो क्यू०५ मा ५१.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एनईडीसी मापदण्डमा एकपटक फुल चार्ज गर्दा ४६२ किलोमिटरसम्म रेन्ज दिन्छ।
गाडीमा १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको कम्पनीको दाबी छ।
फास्ट चार्जिङ सुविधामार्फत १५ मिनेटमै ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। यसमा चांगानको गोल्डेन सिल्ड २.० ब्याट्री प्रविधि प्रयोग गरिएको छ।
परिवारका लागि फराकिलो क्याबिन
नेभो क्यू०५ को अर्को विशेषता यसको फराकिलो इन्टेरियर हो। २ हजार ७३५ एमएमको ह्विलबेसले यात्रुका लागि पर्याप्त लेगरुम उपलब्ध गराउँछ। पछाडिका सिट ढल्काउन मिल्ने सुविधा छ भने ५४० लिटर क्षमताको बुट स्पेसले लामो यात्रामा सामान राख्न सहज बनाउँछ।
सहरी आवागमनसँगै पारिवारिक यात्रालाई लक्षित गरी तयार गरिएको यो एसयूभीमा आराम र उपयोगितालाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।
अन्तर्राष्ट्रिय डिजाइन र प्रविधि
विश्वप्रसिद्ध अटोमोबाइल डिजाइनर क्लाउस जिसियोराको नेतृत्वमा तयार भएको नेभो क्यू०५ चांगानको विश्वव्यापी डिजाइन नेटवर्कको उत्पादन हो। ३१ देश तथा क्षेत्रका ९१५ डिजाइन विशेषज्ञको सहभागितामा विकसित यस गाडीमा एरोडाइनामिक बनावट र फरक लाइटिङ डिजाइन देख्न सकिन्छ। यसले ‘गोल्डेन ए’ डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नेभो क्यू०५ विश्वभर दुई लाखभन्दा बढी युनिट बिक्री भइसकेको मोडल हो। चीनको कम्प्याक्ट एसयूभी बजारमा समेत यसले राम्रो बिक्री प्रदर्शन गरेको छ।
बुटवल र इटहरीमा टेस्ट ड्राइभ तथा एक्सचेन्ज अफर
नेभो क्यू०५ सार्वजनिक भएसँगै ग्राहकले मंसिर १८ देखि २० गतेसम्म बुटवल र इटहरीका सम्बन्धित दिपल सोरुममा आयोजना हुने मेगा एक्सचेन्ज कार्निभलमा सहभागी हुन सक्नेछन्। उक्त कार्यक्रममा पुरानो गाडीसँग नयाँ गाडी साट्ने सुविधा र विभिन्न आकर्षक अफर उपलब्ध हुने कम्पनीले जनाएको छ।
नयाँ मोडलको आगमनसँगै नेपाली बजारमा इलेक्ट्रिक एसयूभीको प्रतिस्पर्धामा चांगान नेभो क्यू०५ ले कस्तो स्थान बनाउँछ भन्ने चासो बढेको छ। विशेषगरी यसको वास्तविक सडक रेन्ज, मूल्य र चार्जिङ अनुभवले ग्राहकको रोजाइमा प्रभाव पार्ने देखिन्छ।
