Site icon Street Nepal

अन्तु डाँडामा पर्यटकीय चहलपहल बढ्दै

  • नेपाल फोटो लाइब्रेरी

इलाम, पूर्वी नेपाल — इलाम जिल्लाको फिक्कल नजिकै अवस्थित अन्तु डाँडा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। होटल व्यवसाय फस्टाउँदै गर्दा यहाँ स-साना कटेज र होमस्टेहरू पनि पर्याप्त मात्रामा सञ्चालनमा आएका छन्।

अन्तु डाँडाको विशेषता यसको चमत्कारिक मौसम हो—एकैछिनमा तुँवालोले ढाक्ने, फेरि एकैछिनमै झलमल्ल घाम लाग्ने। यिनै प्राकृतिक विशेषताले पर्यटकलाई लोभ्याउँदै लगेको छ।

अन्तु पुग्न इलामको फिक्कल बजारबाट छिपिटार, सिद्धिखोला, हिरूवा हुँदै करिब दुई घण्टा ट्याक्सी यात्रा गर्नुपर्छ। यहाँको भ्रमणका लागि असोज, कात्तिक, मंसिर, फागुन र चैतलाई उपयुक्त समय मानिन्छ, यद्यपि अन्य महिनाहरूमा पनि सामान्यरूपमा भ्रमण गर्न सकिन्छ।

सूर्योदय र सूर्यास्त दृश्यका लागि प्रसिद्ध अन्तु डाँडाबाट कञ्चनजङ्घा लगायतका हिमशृंखला, भारतको सिलिगुडी, खर्साङ, मिरिक र तराईका फाँटहरू समेत अवलोकन गर्न सकिन्छ। साथै, अन्तु पोखरीको सुन्दरता पनि पर्यटकका लागि थप आकर्षणको विषय बनेको छ।

पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा अन्तु डाँडाले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानीय निकाय र व्यवसायीहरूले यसको पूर्वाधार विकासमा थप लगानीको अपेक्षा गरेका छन्।

Exit mobile version