Feature

काठमाडौँमा गुँला पर्व सुरु

Published

on

काठमाडौँ, साउन ३२

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ।

वर्षभर दिवंगत भएकाको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ। नेपाल संवतको नवौं महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउँछन्।

धर्म सञ्चय गर्ने महिनाका रुपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ।

नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ।

प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौं तथा आसपासका क्षेत्रबाट सर्वसाधारण आउने गर्छन्।

सो पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिक कालदेखि नै अभ्यासमा रहेको जनविश्वास छ।

बौद्ध विद्वान् भिक्षु तपस्सी धम्मकाअनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्यमा परिक्रमा तथा सेवा गर्ने चलन रहेको र त्यही सेवालाई कालान्तरमा ‘गुँला धर्म’ भनिएको हो।

भाषा वंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो परम्परा चलाएका हुन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version