सगरमाथाको उचाइ, साहसिक यात्रा र प्रेमको कथा समेटिएको फिल्म ‘जेरी अन टप’ अब युट्युबमा हेर्न पाइने भएको छ। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको यो फिल्म दसैँको अवसर पारेर शनिबार युट्युबमा सार्वजनिक गरिएको हो।
हलमा प्रदर्शन भएको करिब एक वर्षपछि फिल्म डिजिटल दर्शकमाझ आएको हो। गत वर्ष असोज ३१ गते सिनेमाघरमा प्रदर्शन सुरु भएको फिल्म यस वर्ष सोही मितिमा युट्युबमा रिलिज गरिएको हो।
सुयोग गुरुङको निर्देशनमा बनेको ‘जेरी अन टप’ले प्रदर्शनका क्रममा दर्शकको राम्रो साथ पाएको थियो। फिल्मले हलबाट १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। यो अनमोल केसीको अभिनय करिअरमा सर्वाधिक कमाइ गर्ने फिल्मसमेत बनेको छ।
एड्भेन्चर र लभस्टोरी विधामा निर्माण गरिएको फिल्मको कथा सगरमाथा आरोहण र त्यस क्रममा विकसित हुने प्रेमसम्बन्ध वरिपरि घुम्छ। साहसिक यात्राको रोमाञ्चसँगै प्रेम, सम्बन्ध र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको फिल्मले हिमाली परिवेशलाई पनि कथाको महत्त्वपूर्ण हिस्सा बनाएको छ।
फिल्ममा अनमोल केसीसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायत कलाकारको अभिनय छ।
हलमा प्रदर्शन हुँदा दर्शकबाट राम्रो प्रतिक्रिया र व्यावसायिक सफलता पाएको ‘जेरी अन टप’ युट्युबमा आएपछि अब सिनेमाघरसम्म पुग्न नपाएका दर्शकले पनि घरमै बसेर फिल्म हेर्न पाउनेछन्। दसैँको फुर्सदमा परिवारसँगै फिल्म हेर्न चाहने दर्शकका लागि यसको डिजिटल प्रदर्शन अर्को अवसर बनेको छ।

