यमपञ्चकको तेस्रो दिन आज देशभर कुकुर तिहार मनाइँदैछ। घरघरमा कुकुरलाई टीका र माला लगाएर मिठा खानेकुरा खुवाइरहँदा सशस्त्र प्रहरी बलले भने तालिमप्राप्त कुकुरहरूको विशेष कलाकौशल प्रदर्शन गरेर कुकुर तिहार मनाएको छ।
काठमाडौंको बलम्बूस्थित सशस्त्र प्रहरी बलको ब्यारेकमा आयोजित कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले आफ्नो सीप प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा कुकुरहरूले अनुशासन पालना, सुरक्षा जाँच, विपद्का बेला उद्धार तथा विभिन्न वस्तु र व्यक्तिको खोजी (ट्र्याकिङ) लगायतका सीप देखाएका थिए।
सशस्त्र प्रहरी बलको पशु स्वास्थ्य तथा डग ह्यान्डलर गुल्ममा रहेका तालिमप्राप्त कुकुरहरू प्रदर्शनमा सहभागी थिए। उक्त गुल्ममा हाल ३० वटा कुकुरको दरबन्दी रहेको सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप थापाले जानकारी दिए।
प्रदर्शनपछि कुकुरहरूलाई टीका र माला लगाएर पूजा गर्नुका साथै मिठा खानेकुरा खुवाइएको थियो।
हिन्दु धार्मिक तथा सांस्कृतिक परम्परामा कुकुरलाई यमराजको दूत र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ।
मानिसको विश्वासिलो साथीसमेत मानिने कुकुरप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष तिहारको दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ।
यस दिन घरमा पालिएका कुकुरसँगै सडकमा रहेका कुकुरलाई समेत पूजा गर्ने र मीठो खानेकुरा खुवाउने चलन छ।
