नेपालकै पहिलो लिफ्टसहितको आकाशे पुल[तस्विर]
ललितपुरको कुसुन्तीमा नेपालकै पहिलो लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ।
पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउने उद्देश्यले बनाइएको यो पुल ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका र सिँढी चढ्न कठिन हुनेहरूका लागि विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।
लिफ्टको सुविधाले शारीरिक रूपमा अशक्त व्यक्तिदेखि बालबालिका बोकेका अभिभावकसम्मलाई सडक पार गर्न सहज बनाउनेछ।
यो पुल निर्माण हुनुको पछाडि दुःखद घटना जोडिएको छ। वडाध्यक्ष गणेश केसीका अनुसार, यस क्षेत्रमा सडक पार गर्ने क्रममा १९ जनाले ज्यान गुमाइसकेका छन्। यस्ता दुर्घटना रोक्ने उद्देश्यले पुल निर्माणको योजना अघि बढाइएको हो।
पुलमा लिफ्टका अतिरिक्त शौचालय, शिशुलाई दूध खुवाउने ठाउँ र अन्य सुविधासमेत राख्ने प्रारम्भिक योजना बनाइएको थियो। यद्यपि, ती सबै सुविधा अन्तिम संरचनामा समावेश हुन सकेन ।
निर्माणका क्रममा प्राविधिक समस्या आएपछि पुल निर्माणमा करिब छदेखि आठ महिना ढिलाइ भएको छ।
अब यसको सञ्चालनसँगै कुसुन्तीमा पैदलयात्रीको यात्रा कति सहज हुन्छ भन्ने चासो छ। लिफ्ट नियमित सञ्चालन, सुरक्षा र मर्मतसम्भारको व्यवस्था भए मात्रै यो पुल सबैका लागि उपयोगी बन्नेछ।






