Site icon Street Nepal

एनपिएल विजेताले १ करोड ५० लाख पाउने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष चार टोलीका लागि कुल ३ करोड रुपैयाँ पुरस्कार छुट्याइएको छ।

आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कार राशि सार्वजनिक गरेको हो। गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार ४० लाख रुपैयाँ बढाइएको छ। गत संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।

सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसपटक अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता चर्चित विदेशी खेलाडी सहभागी हुँदैछन्।

आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधि र मैदानमा सुधारिएका सुविधाले यस संस्करणलाई थप विशेष बनाएको छ। प्रतियोगिता नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

default
Exit mobile version