Site icon Street Nepal

माटोका पाला बनाउन व्यस्त भक्तपुरका प्रजापति

भक्तपुरको पोटरी स्क्वायरमा तिहार लक्षित माटोका पाला, धुपौरो र पूजाका सामग्री बनाउने चटारो छ। आधुनिक विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोका पालाको माग नघटेको व्यवसायी बताउँछन्।

भक्तपुरको पोटरी स्क्वायरमा यतिबेला माटोका भाँडाकुँडा बनाउनेहरूको व्यस्तता बढेको छ। तिहार नजिकिएसँगै यहाँका प्रजापति समुदायका परिवारलाई माटोका पाला, धुपौरो तथा पूजापाठमा प्रयोग हुने सामग्री बनाउन भ्याइनभ्याइ छ।

पुस्तौँदेखि माटोका भाँडाकुँडा बनाउने पेसा अँगाल्दै आएका यहाँका परिवारका लागि तिहार विशेष व्यावसायिक सिजन पनि हो। दैनिक घरघरमा माटो मुछ्ने, चक्र घुमाउने र विभिन्न आकारका सामग्री तयार गर्ने काम भइरहेको छ।

स्थानीय विवेक प्रजापति दिनभरि यही काममा व्यस्त हुन्छन्। उनी एक दिनमा तीनदेखि चार सय वटासम्म धुपौरो बनाउन सक्छन्। बाबुबाट सीप सिकेका उनले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन्।

उनका अनुसार माटोका भाँडाकुँडा बनाउने कामबाट परिवारको गुजारा चले पनि पछिल्लो समय नाफा भने पहिलेको जस्तो छैन। भाँडा बनाउन आवश्यक कालो माटोसमेत अहिले काठमाडौँको मूलपानीबाट किनेर ल्याउनुपर्ने अवस्था छ।

यहाँ उत्पादित सामग्री थोक व्यापारीमार्फत काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा पुग्ने गरेको छ। उत्पादकले एउटा पाला थोकमा तीन रुपैयाँ र खुद्रामा पाँच रुपैयाँसम्ममा बिक्री गर्छन्। तर, पसलमा पुगेपछि त्यही पाला ४० देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यवसायीको भनाइ छ।

अर्का व्यवसायी विनोदकुमार प्रजापतिका अनुसार यस वर्ष उनका छोराछोरीले मात्रै १० देखि २० हजार वटासम्म पाला बनाएका छन्। तिहारको समयमा ४० देखि ५० हजार रुपैयाँ बराबरका माटोका सामग्री बिक्री हुने गरेको उनी बताउँछन्।

पछिल्लो समय विद्युतीय तथा आयातित झिलिमिली बत्तीको प्रयोग बढे पनि माटोका पालाको माग कायमै रहेको उनको भनाइ छ। ‘बिजुलीको बत्ती बाल्नेहरूले पनि माटोको पाला किनिरहेका छन्। यो धार्मिक र सांस्कृतिक परम्परासँग जोडिएको कुरा हो,’ उनी भन्छन्।

भक्तपुरको पोटरी स्क्वायरमा माटोका भाँडाकुँडा बनाउने काम केवल व्यवसायमा सीमित छैन। यो यहाँको मौलिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप पनि हो। बदलिँदो समयसँगै बजारमा नयाँ प्रविधि र सामग्री थपिए पनि माटोका भाँडा बनाउने परम्पराले यहाँ निरन्तरता पाइरहेको छ।

Exit mobile version