बेलायतमा औषधीको अनुसन्धान गर्ने सिर्जना गुरुङ अहिले नेपाली फिल्मको चर्चित शृंखला ‘कबड्डी ५’ की नयाँ सोल्टिनी बनेकी छन्। क्लिनिकल रिसर्चमा व्यस्त उनको जीवनमा अभिनयको यो अवसर अप्रत्याशित रूपमा आयो। अडिसन दिँदा कुन फिल्मका लागि हो भन्नेसमेत उनलाई थाहा थिएन। छनोटमा परेपछि मात्रै उनले थाहा पाइन्—आफू ‘कबड्डी ५’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दैछिन्।
सिर्जनाका लागि यो अवसर एउटा अप्रत्याशित मोड बन्यो। बासुरी फिल्म्सले फेसबुकमा सार्वजनिक गरेको अडिसनको सूचना देखेपछि उनले आफ्नो भिडियो पठाएकी थिइन्। छनोटमा परेको खबर पाएपछि मात्रै चर्चित फिल्म शृंखलाको हिस्सा बन्न लागेको थाहा पाइन्।
सन् २०१७ मा ‘मिस यूके नेपाल’ को उपाधि जितेपछि सिर्जनाको कला यात्राले गति लिएको थियो। त्यसपछि उनले म्युजिक भिडिओ र सर्ट फिल्ममा अभिनय गरिन्। बेलायतमा नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा उद्घोषकका रूपमा सक्रिय रहनुका साथै गुरुङ भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासँग जोड्ने काममा पनि उनी संलग्न रहिन्।
तर, अभिनयलाई व्यावसायिक रूपमा अघि बढाउने उनको यात्रा योजनाअनुसार अघि बढेको थिएन। बायोमेडिकल साइन्समा स्नातक गरेकी सिर्जना अहिले बेलायतमा क्लिनिकल रिसर्चको क्षेत्रमा काम गर्छिन्। औषधी सर्वसाधारणको प्रयोगमा आउनुअघि गरिने अनुसन्धानसँग उनको पेसा सम्बन्धित छ।
फिल्ममा सिर्जनाले मुस्ताङकी एक विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन्। कम बोल्ने, सरल र मनका कुरा आफैँभित्र राख्ने उनको पात्रले काजीको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा फिल्मले खुलाउनेछ।
स्थापित कलाकारहरूसँग काम गर्दा सिर्जनाले अभिनयका धेरै पक्ष सिक्ने अवसर पाइन्। विशेषगरी दयाहाङ राईसँगको सहकार्य उनका लागि नयाँ अनुभव बन्यो। पात्र बुझ्न र दृश्यमा आफूलाई प्रस्तुत गर्न निर्देशक तथा सहकलाकारबाट सहयोग पाएको उनी बताउँछिन्।
पोखरामा घर भएकी सिर्जनाको जन्म हङकङमा भएको हो। बाल्यकालमा नेपालमा केही वर्ष बिताएपछि उनी परिवारसँगै ब्रुनाई हुँदै बेलायत पुगेकी थिइन्। विदेशमा रहे पनि नेपाली फिल्मप्रतिको रुचि कायम रह्यो। ‘कबड्डी’ का अघिल्ला शृंखला बेलायतमै हेरेकी उनले कुनै दिन नेपाली फिल्ममा काम गर्ने सपना देखेकी थिइन्।
‘कबड्डी ५’ पछि अभिनयलाई निरन्तरता दिने विषयमा उनी अहिले नै निश्चित छैनन्। बेलायतको जागिर छाडेर फिल्ममै केन्द्रित हुने योजना पनि छैन। उनका लागि पर्दामा धेरै समय देखिनुभन्दा पात्रले कथामा अर्थपूर्ण योगदान दिनु महत्वपूर्ण छ।
यसै विच कबड्डी ५’ आजदेखि प्रदर्शनमा आएको छ। फिल्मका शो र टिकट बुकिङले दर्शकमाझ चासो देखिएको छ। चर्चित शृंखलामा नयाँ अनुहारका रूपमा जोडिएकी सिर्जनाको अभिनयलाई दर्शकले कसरी लिन्छन् भन्ने हेर्न बाँकी छ। क्लिनिकल रिसर्चको पेसासँगै अभिनयमा समेत रुचि राख्ने सिर्जनाले यो फिल्ममा आफ्नो क्यारेक्टरलाई न्याय गरेको देखिन्छ।
अब उनको अभिनयले पाउने दर्शक प्रतिक्रियाले आगामी दिनमा नेपाली चलचित्र क्षेत्रमा अभिनयलाई निरन्तरता दिने उनको यात्रालाई दिशा दिन सक्छ।

