Feature

बागलुङ कालिकाको प्रसाद पाक्ने डम्मरको अँगेना[तस्बिर]

avatar
Street Nepal

An editor at streetnepal


  • November 28, 2026
  • 25 पटक पढिएको

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर प्रवेशद्वार छेउको अँगेनामा झिसमिसेमै आगो बल्छ । १० वटा अँगेनामा एकै साथ रोट पाक्न सुरू हुन्छ । सबेरैदेखि साँझ अबेरसम्म रोट पकाउने र किनबेचको प्रक्रिया चलिरहन्छ । मन्दिरमा आयातित मिठाइ, नरिवललगायत प्रसाद रोक्न स्थानीय डम्मर मल्लले आजभन्दा ७ वर्षअघिदेखि प्रसादका रुपमा रोट पकाउन थालेका हुन् ।

मुखै रसाउने गरि घ्यूमा पाक्ने रोट भक्तजनको रोजाइँ बनेको छ । मन्दिरमा आउने भक्तजन मल्लको रोट पकाउने अँगेनो छेउमै आएर तात्तातो रोट लिएर चढाउन लैजान्छन् । मन्दिरमा आउने दर्शनार्थीले प्रसादका रुपमा आयातित तयारी मिठाइ तथा नरिवल चढाउने प्रचलन बढेपछि मल्लले मन्दिर गेटमै पसल स्थापना गरेर रोट बनाउन थालेका हुन् ।

बागलुङ कालिकामा दुई दशक अगाडिसम्म रोट चढाउने प्रचलन थियो । तर बीचमा आयातित वस्तु चढाउन थालेपछि रोट बनाउन छोडिएको थियो । दुई दशकपछि पुनः मन्दिरमा रोट चढाउन थालेपछि मिठाइ र नरिवल कम आयात हुने मल्ले अपेक्षा व्यक्त गरे । 

पहिले पूजा अर्चना गर्न आउने दर्शनार्थीले घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने गरेकोमा अहिले उनको पसलबाट किन्न थालिएको छ । बागलुङमा रोट बनाउने मल्ल एक्ला व्यवसायी हुन् । रोटलाई कालिका मन्दिर चढाइने शुद्ध र चोखो प्रसादको रुपमा लिने हुँदा पछिल्लो समय धेरैले रोट चढाउन थालेको मल्लले बताए ।

रोट बनाउन सुरू गरेको दुई वर्ष केही समस्या भएपनि अहिले भक्तजन स्वयं खोज्दै आउने गरेको उनको भनाइ छ । पहिले बुढापाकाले मात्र रोट किनेर चढाउने गरेकोमा अहिले सबै खाले भक्तजनले रोट चढाउन प्रचलन बढ्न थालेको मल्ले बताए । ‘आयातित प्रसादलाई रोक्नका लागि मैले रोट बनाउन सुरु गरेको हुँ । सुरुमा त कसैले नकिन्दा किन सुरु गरेछु भन्ने सोच आएको थियो तर अहिले राम्रो हुँदै गएको छ,’ उनले सुनाए ।

दसैँ र चैते दसैँका बेला कालिका मन्दिरमा भक्तजनको थगिनसक्नु भीड हुन्छ । अधिंकाशले रोट चढाउन थालेको मल्लले बताए । यस वर्ष बाढीले कालीगण्डकी पुलको पहुँच मार्ग भत्किदा दसैँका बेला भक्तजन निकै कम आउँदा व्यापार पनि कम भएको उनको भनाइ छ । 

चामलको पिठोमा चिनी, नरिवल, बदाम, काजु मिसाएर घ्युमा रोट पकाउने गरिन्छ । एउटा रोटलाई ४ देखि ५ सय रूपैयाँका दरले बिक्री गर्दै आएका छन् । उनले हरेक वर्ष करिब आठ लाख रूपैयाँ बराबरको रोट बिक्री गर्दै आएका छन् ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

Facebook Comments