ल्यान्ड रोभरको डिजाइन नक्कल गरेको आरोपमा बीवाईडीको टी–७ लाई युरोपमा प्रतिबन्ध
- November 22, 2026
- 4 पटक पढिएको
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीको नयाँ एसयूभी टी–७ युरोपेली बजारमा प्रवेश नपाउँदै कानुनी विवादमा परेको छ। बेलायती अटोमोबाइल कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) ले आफ्नो चर्चित एसयूभी ‘ल्यान्ड रोभर डिफेन्डर’ को डिजाइन नक्कल गरेको आरोप लगाएपछि बीवाईडीको टी–७ माथि युरोपेली संघ (ईयू) मा अस्थायी प्रतिबन्ध लागेको हो।
नेदरल्यान्ड्सको द हेगस्थित जिल्ला अदालतले शुक्रबार जारी गरेको अन्तरिम आदेशअनुसार बीवाईडीले टी–७ को बिक्री, आयात तथा उत्पादन युरोपेली संघका २७ सदस्य राष्ट्रमा गर्न पाउने छैन। जेएलआरले आफ्नो दर्ता भएको युरोपेली डिजाइनको नक्कल गरी बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको दाबीसहित मुद्दा दायर गरेको थियो।
अदालतको प्रारम्भिक ठहरमा टी–७ को बाहिरी बनावट र समग्र डिजाइन ल्यान्ड रोभर डिफेन्डरसँग अत्यधिक मिल्दोजुल्दो रहेको उल्लेख छ। विशेषगरी बक्स आकारको बडी, गोलाकार किनार, चारपाटे ह्विल आर्च र पछाडिको झ्यालछेउको प्यानललाई अदालतले समानताका आधार मानेको छ।
बीवाईडीले हेडलाइट, ग्रिल, बम्पर र बोनटको डिजाइन फरक रहेको तर्क गरे पनि ती परिवर्तनले गाडीलाई छुट्टै पहिचान दिन नसक्ने अदालतको निष्कर्ष छ।
आदेश औपचारिक रूपमा कार्यान्वयन भएको एक सातापछि ईयूका सबै सदस्य राष्ट्रमा लागू हुनेछ। यससँगै हंगेरीको सेगेदमा निर्माणाधीन बीवाईडीको कारखानाबाट टी–७ उत्पादन गर्ने योजना पनि प्रभावित हुने भएको छ।
अदालतको आदेश उल्लंघन गरेमा बीवाईडीले दैनिक एक लाख युरो वा प्रतिबन्धित प्रत्येक गाडीबापत २५ हजार युरो जरिवाना तिर्नुपर्ने हुन सक्छ। जरिवानाको अधिकतम सीमा एक करोड युरो तोकिएको छ।
तर, बेलायतमा भने यो प्रतिबन्ध लागू हुने छैन। ईयूबाट बाहिरिइसकेको बेलायतमाथि द हेग अदालतको क्षेत्राधिकार नपुग्ने भएकाले बीवाईडीले सन् २०२७ जनवरीदेखि बेलायती बजारमा टी–७ बिक्री तथा डेलिभरी गर्ने आफ्नो योजना कायम राख्न सक्नेछ।
अदालतको आदेशप्रति असहमति जनाउँदै बीवाईडीले पुनरावेदन गर्ने घोषणा गरेको छ। कम्पनीले टी–७ आफ्नै स्वतन्त्र डिजाइन प्रक्रियाबाट विकास गरिएको र कुनै कम्पनीको बौद्धिक सम्पत्ति अधिकार उल्लंघन नगरेको दाबी गरेको छ।
यता जेएलआरले आफ्नो डिजाइन र बौद्धिक सम्पत्तिको सुरक्षाका लागि कानुनी लडाइँ जारी राख्ने जनाएको छ। अन्तरिम प्रतिबन्धलाई स्थायी बनाउन जेएलआरले अबको ६ महिनाभित्र मुख्य मुद्दा दायर गर्नुपर्नेछ।
यसैबीच, रोटरड्यामस्थित अदालतमा बीवाईडीविरुद्ध जेएलआरले दायर गरेको प्रतिलिपि अधिकारसम्बन्धी अर्को मुद्दाको सुनुवाइ नोभेम्बर २५ मा हुँदैछ।
यो घटनाले विश्व अटोमोबाइल बजारमा तीव्र गतिमा विस्तार भइरहेको चिनियाँ ब्रान्ड र स्थापित युरोपेली निर्माताबीच डिजाइन तथा बौद्धिक सम्पत्ति अधिकारको विवादलाई फेरि चर्चामा ल्याएको छ।

