Art

स्थानीय भावना र वातावरणीय पक्ष सम्बोधन गरेर ‘सिनेपा’ स्टुडियो निर्माण अघि बढाइने

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’ निर्माण प्रक्रिया अघि बढाइने भएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बुधबार प्रस्तावित निर्माणस्थलको निरीक्षण गर्दै स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्बोधन गरेर आयोजना अघि बढाउनुपर्ने बताएका छन्।

निरीक्षणका क्रममा उनले स्थानीय जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समिति, सरोकारवाला तथा चलचित्र विकास बोर्डका पदाधिकारीसँग छलफल गरेका थिए। राष्ट्रिय महत्त्वको परियोजना अनिश्चितकालसम्म रोक्न नहुने भन्दै उनले स्थानीयको हित, कानुनी प्रक्रिया र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने बताए।

करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको स्टुडियोको प्रारम्भिक डिजाइनअनुसार संरचना बनाउन करिब एक लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखिएको छ। यसले डाँडाको प्राकृतिक स्वरूप र वातावरणमा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै वैकल्पिक डिजाइन र निर्माणस्थलबारे पुनः अध्ययन गर्न मन्त्री तिमिल्सिनाले निर्देशन दिएका छन्।

उनले स्टुडियो निर्माणले चलचित्र क्षेत्रको विकाससँगै स्थानीय रोजगारी, पर्यटन, होटल तथा यातायात व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने बताए। आयोजनाबाट स्थानीय समुदायले प्रत्यक्ष र अप्रत्यक्ष दुवै लाभ पाउनुपर्ने उनको भनाइ थियो।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको यो परियोजनाको २०८२ वैशाखमा शिलान्यास गरिएको थियो। प्रस्तावित स्टुडियोमा अस्पताल, प्रहरी चौकी, कारागारलगायतका दृश्य छायाङ्कन गर्न मिल्ने इन्डोर सेट निर्माण गरिनेछ। त्यस्तै, चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्ष र सभाहलसहितका संरचना बनाउने योजना छ।

मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र निर्माण कार्य अघि बढाउने लक्ष्य रहेको बताउँदै स्थानीय सरकार र समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

Facebook Comments