रसुवा बाढीपीडितको सम्झनामा ह्वाइट गुम्बामा विशेष प्रार्थना
- November 13, 2026
- 11 पटक पढिएको
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै तथा बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिको कामना गर्दै काठमाडौंमा आयोजित ११औँ वार्षिक ड्रुक्पा काउन्सिलको पहिलो दिन विशेष प्रार्थना गरिएको छ।
शुक्रबारदेखि काठमाडौंको ड्रुक अमिताभा गुम्बा (ह्वाइट गुम्बा) मा सुरु भएको काउन्सिलमा यसपटक सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमभन्दा प्रार्थना र आध्यात्मिक गतिविधिलाई प्राथमिकता दिइएको छ। नेपालमा भएको प्राकृतिक विपद् र त्यसले निम्त्याएको मानवीय क्षतिलाई स्मरण गर्दै विशेष प्रार्थना आयोजना गरिएको आयोजकले जनाएको छ।
पाँच दिनसम्म सञ्चालन हुने काउन्सिलमा प्रार्थना, युवा केन्द्रित प्यानल छलफल तथा विभिन्न आध्यात्मिक गतिविधि समावेश छन्। काउन्सिलमा सहभागी ड्रुक्पा कुङ्फु नन जिग्मे याम्छेन गामोका अनुसार यसअघि पनि ननहरूले रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिसकेका छन्। शनिबार पुनः राहत सहयोग लिएर प्रभावित क्षेत्रमा जाने तयारी रहेको उनले बताइन्।
उनका अनुसार ड्रुक्पा कुङ्फु ननहरूले आध्यात्मिक अभ्याससँगै वातावरण संरक्षण, विपद् राहत र सामुदायिक सशक्तीकरणका क्षेत्रमा समेत काम गर्दै आएका छन्। उनीहरूले कुङ्फुलाई अरूलाई हानि पुर्याउने माध्यम नभई शारीरिक तथा मानसिक रूपमा सबल बनाउने अभ्यासका रूपमा लिने गरेका छन्।
‘लिभ टु लभ’ नामक अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध ननहरूले नेपालसहित विभिन्न देशमा वातावरण संरक्षणका अभियान सञ्चालन गर्दै आएका छन्। हिमाली तथा ग्रामीण क्षेत्रमा सरसफाइ, वृक्षरोपण, साइकल यात्रा र पदयात्रामार्फत स्थानीय समुदायलाई वातावरण संरक्षणप्रति सचेत बनाउने काम भइरहेको गामोले बताइन्।
पदयात्रा तथा साइकल यात्राका क्रममा बाटो, नदी र हिमाली क्षेत्रमा फालिएका प्लास्टिक तथा अन्य फोहोर संकलन गरी पुनः प्रशोधनका लागि पठाउने गरिएको छ। साथै, स्थानीय बासिन्दा र विद्यालयका विद्यार्थीलाई वातावरण संरक्षणको महत्त्वबारे जानकारी दिने गरिएको छ। नेपालमा काठमाडौं उपत्यकादेखि मुस्ताङसम्म विभिन्न अभियान सञ्चालन गरिएको उनले जानकारी दिइन्।
भारतको लद्दाखमा सन् २००४/०५ तिर सञ्चालन गरिएको वृक्षरोपण अभियानमा छोटो समयमै ठूलो संख्यामा बिरुवा रोपेर गिनिज वर्ल्ड रेकर्डसमेत कायम गरिएको उनको भनाइ छ।
‘करुणा, समानता र सम्मानका साथ विश्वव्यापी अनिश्चितताको सामना’ भन्ने नारासहित नोभेम्बर १३ देखि १७ (कात्तिक २७ देखि मंसिर १) सम्म सञ्चालन हुने काउन्सिलमा विभिन्न देशका आध्यात्मिक गुरु, प्रतिनिधि, विद्यार्थी तथा अनुयायी सहभागी छन्।
सन् २००९ मा ग्यालवाङ ड्रुक्पाद्वारा स्थापना गरिएको यस काउन्सिलमा ड्रुक्पा परम्परासँग आबद्ध विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुँदै आएका छन्। यसपटकको काउन्सिलमा लिभ टु लभका गतिविधिलाई थप प्रभावकारी बनाउने, आध्यात्मिक अभ्यासलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने तथा वातावरण र समुदाय संरक्षणका कार्यक्रम विस्तार गर्ने विषयमा छलफल हुनेछ।
काउन्सिलमा जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका विषयमा बौद्ध दर्शन र जलवायु विज्ञानको दृष्टिकोणबाट पनि छलफल गरिने कार्यक्रम छ। विशेषगरी प्राकृतिक विपद्को जोखिममा रहेका हिमाली समुदायको संरक्षण र सहयोगका उपायबारे विचार आदानप्रदान गरिने आयोजकले जनाएको छ।








तस्विर : नेपाल फोटो लाईब्रेरी
