विभेद र हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन, महिलाको समान अधिकार सुनिश्चित गर्न माग
- November 25, 2026
- 9 पटक पढिएको
महिलामाथि हुने विभेद, हिंसा र छुवाछुत अन्त्य गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा बुधबार युथ एड्भोकेसी नेपालले प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद, छुवाछुत र असमानताको अन्त्य गर्न माग गरेका थिए। उनीहरूले महिलाको सम्मानजनक जीवनयापन, समान अवसर र अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रदर्शनकारीहरूले राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्न, रोजगारी तथा स्वरोजगारमा महिलाको पहुँच बढाउन र बालबालिकाको समावेशी तथा गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्न माग गरेका छन्। त्यस्तै, पछिल्लो समय बढ्दै गएको डिजिटल हिंसा, अनलाइन दुर्व्यवहार, घृणा र बुलिङ अन्त्यका लागि प्रभावकारी कदम चाल्न पनि उनीहरूले आग्रह गरेका छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइन्छ। नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस र डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकार दिवस हो। यी दुई दिवसलाई जोडेर लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिँदै आएको छ।
यस अभियानको सुरुवात सन् १९९१ मा अमेरिकाको रटगर्स विश्वविद्यालयस्थित सेन्टर फर वुमन्स ग्लोबल लिडरसिपको आयोजनामा भएको पहिलो महिला विश्व नेतृत्व सम्मेलनबाट भएको हो। महिलामाथि हुने हिंसालाई मानव अधिकार उल्लङ्घनका रूपमा स्थापित गर्दै यसको अन्त्यका लागि विश्वव्यापी ऐक्यबद्धता जुटाउनु अभियानको मुख्य उद्देश्य हो।
नोभेम्बर २५ को मिति डोमिनिकन गणतन्त्रका मिराबल दिदीबहिनीको स्मृतिसँग पनि जोडिएको छ। सन् १९६० नोभेम्बर २५ मा तत्कालीन तानाशाही शासनको विरोध गर्ने तीन दिदीबहिनीको हत्या गरिएको थियो। उनीहरूको स्मृतिमा संयुक्त राष्ट्रसंघले सन् १९९९ मा नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको हो।













