Site icon Street Nepal

पशुपतिमा फूलको तोरण टाँगेर मनाइँदै हरिबोधिनी एकादशी

आज हरिबोधिनी एकादशी। भगवान् विष्णुको पूजा आराधना गरी हिन्दु धर्मावलम्बीहरूले देशभर यो पर्व मनाउँदैछन्।

ठूलो एकादशीका रूपमा समेत चिनिने यस दिन भगवान् विष्णु चार महिनाको शयनपछि ब्युँझने धार्मिक विश्वास छ। हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका विष्णु आज ब्युँझने भएकाले यसलाई हरिबोधिनी अर्थात् प्रबोधिनी एकादशी भनिएको हो।

यस अवसरमा घरघरमा रोपिएको तुलसीको दामोदरसँग विवाह गराउने परम्परा छ। तुलसीको मठलाई गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ। त्यसपछि दामोदरको प्रतीकका रूपमा निगालो गाडेर विधिपूर्वक तुलसी विवाह गरिन्छ।

हरिबोधिनी एकादशीका अवसरमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा पनि फूलको तोरण टाँगिएको छ।

यस दिन नदी वारपार फूलको माला टाँग्ने परम्परालाई ‘फूल तार्ने’ भनिन्छ। धार्मिक आस्था र परम्परासँग जोडिएको यो चलन हरिबोधिनी एकादशीको विशेष आकर्षणका रूपमा रहेको छ।

Exit mobile version