News

घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे दुई मन्त्री

जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिन दुई मन्त्री त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादी आज महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उपचाररत ढकाल र उनका परिवारसँग भेट गरेका हुन्।

भेटका क्रममा मन्त्रीद्वयले ढकालको स्वास्थ्य अवस्था, हालसम्म भइरहेको उपचार, थप उपचारको आवश्यकता तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएका थिए।

उनीहरूले शान्तनुको प्रभावकारी उपचारसँगै उपचारपछिको पुनर्स्थापना र परिवारको सामाजिक तथा आर्थिक सुरक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसका लागि सम्बन्धित मन्त्रालयमार्फत आवश्यक समन्वय र सहजीकरण गरिने उनीहरूको भनाइ छ।

सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा मात्र नभई उपचारपछिको जीवनयापन र पुनर्स्थापनामा समेत राज्यको जिम्मेवारी सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

Facebook Comments