लचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याउँदै सरकार
- November 24, 2026
- 9 पटक पढिएको
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र आवश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ कानुन ल्याउन लागिएको बताएका छन्।
सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुँदै मन्त्री तिमिल्सिनाले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा, सिर्जनशीलता र आर्थिक विकाससँग जोडिएको उद्योगका रूपमा विकास गर्न विधेयक अघि बढाइएको बताए।
उनले चलचित्र क्षेत्रका समस्या समाधान गर्दै व्यावसायिक विकास र विस्तारमा सहयोग पुर्याउने गरी नयाँ कानुन निर्माण गरिने बताए। चलचित्र सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डको भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि कानुनमै स्पष्ट हुनुपर्ने बताए। बोर्डलाई प्रभावकारी र स्वायत्त संस्थाका रूपमा विकास गर्न आवश्यक अधिकार तथा संस्थागत क्षमता प्रदान गर्नुपर्ने उनले उल्लेख गरे।
त्यस्तै, सङ्घ, प्रदेश र स्थानीय तहबीच चलचित्र क्षेत्रसँग सम्बन्धित अधिकार तथा जिम्मेवारी स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए। तीनै तहका सरकारबीच अधिकारको दोहोरोपन र अनावश्यक हस्तक्षेप हुन नदिन कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।
विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बक्स अफिस प्रणाली अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। यसबाट टिकट बिक्री, आम्दानी, कर तथा प्रदर्शनसम्बन्धी विवरण पारदर्शी बनाउने लक्ष्य राखिएको छ।
त्यसैगरी, चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजातिका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने विषय पनि विधेयकमा समेटिएका छन्।
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यसमेत विधेयकले राखेको छ।
सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्न चलचित्र विधेयक, २०८१ अघि बढाएको हो। करिब छ दशकपछि चलचित्र क्षेत्रका लागि नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढेको हो।
समिति सभापति डा. ओजस्वी शेरचनले विधेयकका २६ वटा दफामा १२२ वटा संशोधन प्रस्ताव परेको जानकारी दिइन्। बैठकमा संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग छलफलसमेत भएको थियो।
