नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज समापन हुँदैछ। कात्तिक ९ गतेदेखि त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिडिरहेका छन्।
रोचक संयोग, यस संस्करणको उद्घाटन खेलमा पनि यी दुई टोली नै आमनेसामने भएका थिए। प्रतियोगिताको सुरुवात र समापन दुवै खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा भइरहेको छ।
अघिल्लो संस्करणका फाइनलिस्टसमेत रहेका यी दुई टोली लगातार दोस्रोपटक उपाधिका लागि भिडेका हुन्। सुदूरपश्चिमको समर्थकको संख्या उल्लेख्य छ भने राष्ट्रिय टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीका समर्थक पनि मैदानमा उत्तिकै उत्साहित देखिन्छन्।
फाइनल हेर्न दर्शकले त्रिवि क्रिकेट मैदान भरिएको छ। क्षमताभन्दा बढी दर्शक पुगेपछि कतिपय दर्शक प्यारापिटमा उभिएरै खेल हेर्न बाध्य छन्।
टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनीले सुरुवाती ओभरमै विकेट गुमायो। तेस्रो ओभरमा आसिफ शेख १ रनमा आउट भए। छैटौँ ओभरमा डार्सी सर्ट २१ रन बनाएर पभेलियन फर्किए भने ११औँ ओभरमा डिकवेला २८ रनमा आउट भए।
अहिले लुम्बिनीका कप्तान रोहित पौडेल र दिलीप नाथ क्रिजमा छन्।
फ्लडलाइटको उज्यालोमा त्रिवि क्रिकेट मैदान झिलिमिली बनेको छ। दर्शकको हुटिङ र खेलाडीको प्रदर्शनले एनपिएलको फाइनललाई थप रोमाञ्चक बनाएको छ।
