नेवार समुदायले मनायो सकिमना पुन्ही [तस्विर]
- November 24, 2026
- 29 पटक पढिएको
नेवार समुदायले आज कार्तिक पूर्णिमाका दिन परम्परागत पर्व सकिमना पुन्ही मनाएका छन्। यस दिन नेवार समुदायका घरघरमा पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर खाने चलन छ।
नेवार समुदायमा ऋतुअनुसार उत्पादन भएका नयाँ अन्न तथा कन्दमूल इष्टदेवतालाई चढाएर मात्र खाने परम्परा छ। सोहीअनुसार आज उसिनेको पिँडालु, सखरखण्ड तथा अन्य कन्दमूल देवीदेवतालाई चढाएर प्रसादका रूपमा ग्रहण गरिन्छ।
सकिमना पुन्हीको अर्को विशेषता भनेको अन्न र गेडागुडीबाट बनाइने कलात्मक आकृति हो। साँझपख मन्दिर तथा देवस्थल अगाडि भुटेको मकै, भटमास, गहुँ, बदाम, केराउ र चनालगायतका गेडागुडी सजाएर विभिन्न देवीदेवता तथा मन्दिरका आकृति बनाउने गरिन्छ। स्थानीय भाषामा यसलाई ‘हलिमली’ भनिन्छ।
यस अवसरमा न्यातपोल मन्दिर, बिस्काः जात्राको रथ, गणेशलगायत देवीदेवताका आकृति अन्न र गेडागुडीबाट बनाइन्छन्। सामान्य अन्नलाई कलात्मक रूपमा सजाएर तयार पारिने यी आकृतिले नेवार समुदायको मौलिक कला, धार्मिक आस्था र सांस्कृतिक वैभव झल्काउँछन्।
अन्नबाटै कला सिर्जना गरी धार्मिक परम्परालाई निरन्तरता दिने सकिमना पुन्ही नेवार समुदायको विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व हो।









