Feature

अयोध्याबाट जनकपुरधाम आइपुग्दै ‘सरयू–कमला एक्सप्रेस’, स्वागतको भव्य तयारी

भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुग्ने भएको छ। रेलको स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए।

उद्घाटनपछि सोमबार दिउँसो १२:३० बजे अयोध्या धामबाट छुटेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने निर्धारित समय छ। रेलको स्वागतका लागि जनकपुरधाममा सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको छ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै जनकपुरधामलाई जोड्नेछ। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ।

१७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियर श्रेणीका सिट सुविधा उपलब्ध छन्। यो रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ।

रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यस रेल सेवाले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, धार्मिक पर्यटक तथा यात्रुहरूको आवागमनलाई सहज बनाउने विश्वास गरिएको छ।

तस्वीर : अमरेन्द्र कुमार यादव/नेपाल फोटो लाइब्रेरी

Facebook Comments