Site icon Street Nepal

दाजुभाइ–दिदीबहिनीको प्रेम र सद्भावको पर्व सामा–चकेवा सम्पन्न

दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र आपसी सद्भावको प्रतीक मानिने मधेशको मौलिक लोकपर्व सामा–चकेवा मनाइएको छ। छठ पर्वको खरना अर्थात् पञ्चमीदेखि सुरु भएको यो पर्व पूर्णिमाको राति सामा–चकेवालगायतका माटाका मूर्ति जोतिएको खेतमा विसर्जन गरेसँगै मंगलबार सम्पन्न भएको हो।

विशेषगरी मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र उल्लासका साथ मनाइने सामा–चकेवा पर्वमा दिदीबहिनीहरूले माटोबाट सामा, चकेवा, चुगला, वृन्दावनलगायत विभिन्न आकृतिका मूर्ति बनाउने र तिनलाई रङ्गीचङ्गी बनाएर सजाउने गर्छन्। साँझपख दिदीबहिनी तथा महिलाहरू समूहमा भेला भएर डालोमा सजाइएका मूर्ति राख्दै परम्परागत सामा–चकेवाका गीत गाउने र नाच्ने गर्छन्।

यस पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि र कल्याणको कामना गर्दै पूजा गर्ने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीप्रतिको प्रेम र सम्मान प्रकट गर्दै उनीहरूलाई उपहार तथा दक्षिणा दिने चलन छ।

लोककथाअनुसार सामा–चकेवा पर्वको सम्बन्ध भगवान् श्रीकृष्णकी छोरी सामा र उनका प्रेमी चकेवाको कथासँग जोडिएको छ। सामामाथि लागेको आरोप र त्यसबाट उत्पन्न घटनालाई यस पर्वका गीत तथा नृत्यमार्फत प्रस्तुत गर्ने गरिन्छ। यसले प्रेम, त्याग, सत्य र पारिवारिक सम्बन्धको महत्त्वलाई उजागर गर्छ।

पर्वको अन्तिम दिन पूर्णिमाको राति विशेष पूजा गरी सामा–चकेवाका मूर्तिहरू विसर्जन गरिन्छ। यससँगै केही दिनदेखि चल्दै आएको पर्वको समापन हुन्छ।

पुस्तौँदेखि चल्दै आएको यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मिथिलाको भाषा, लोकगीत, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

सामा–चकेवा केवल धार्मिक अनुष्ठान मात्र नभई पारिवारिक प्रेम, सामाजिक एकता र मिथिला सभ्यताको सांस्कृतिक पहिचान बोकेको मौलिक लोकपर्व हो।

Exit mobile version