News

अटुट मित्रताको कथा ‘साथी होस् त यस्तो ’[भिडियो]

रगतको नाता नभए पनि जीवनभर कायम रहने मित्रता र दुई साथीबीचको आत्मीय सम्बन्धलाई प्रस्तुत गर्दै गीत ‘साथी होस् त यस्तो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतले जीवनका सुख–दुःख, संघर्ष र कठिन परिस्थितिमा एकअर्काको भरोसा बनेर उभिने साथीको सम्बन्धलाई चित्रण गरेको छ। आफन्तबाट टाढा रहँदा वा आपत्–विपत्मा पर्दा एकअर्काको सहारा बन्ने, आँसु पुछ्दै मुस्कान बाँड्ने र समय तथा भूगोलले टाढा बनाए पनि मनबाट कहिल्यै टाढा नहुने मित्रताको भाव गीतमा मार्मिक ढंगले समेटिएको छ।

‘रगतको नाता नभए पनि यो साइनो कहिल्यै टुट्ने छैन’ भन्ने भाव बोकेको गीतले साँचो मित्रताको सम्बन्ध र त्यसको महत्त्वलाई उजागर गर्छ। जीवनको अन्तिम पलसम्म पनि मित्रता कायम रहने विश्वास गीतको मुख्य सन्देश हो।

राजनराज शिवाकोटी र भानुभक्त ढकालको स्वर रहेको गीतमा नीर दाहालको शब्द र भानुभक्त ढकालको संगीत छ। विश्व अधिकारीले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्याम बागदासले गरेका हुन्।

साहारा कोइरालाको निर्देशनमा बनेको म्युजिक भिडियोमा नीर दाहाल, माधव ढुंगेल, निदर्शना दाहाल, अर्पण शर्मा अधिकारी, शर्मिला कक्षपति, निर्भिक दाहाल र अनुज ढुंगेललगायतको अभिनय छ। बालकलाकारका रूपमा प्रकृत पोखरेल र जिनियस प्रसाईं देखिएका छन्।

प्रेम लामा र नरेन भट्टराईले छायांकन गरेको भिडियोको सम्पादन तथा कलरिङ तेकेन्द्र शाहले गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन लाइमलाइट नेपालले गरेको छ।

Facebook Comments