सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन
- November 21, 2026
- 40 पटक पढिएको
लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।
यससँगै सुदूरपश्चिम लगातार तीन पटक एनपीएलको फाइनल पुग्ने पहिलो टोलीसमेत बनेको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
तेस्रो संस्करणमा पनि सुदूरपश्चिमको सुरुवात सुखद रहेन। पहिलो खेलमै लुम्बिनीसँग पराजित भएको टोलीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा स्थान बनायो। पहिलो क्वालिफायरमा पुनः लुम्बिनीसँग हारे पनि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनल पुग्यो।
फाइनलमा भने सुदूरपश्चिमले लुम्बिनीविरुद्ध शानदार प्रदर्शन गर्यो। लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई पूरा गर्यो।
जितका नायक बने स्कटल्यान्डका जर्ज मन्से। उनले ५४ बलमा अविजित १२५ रन बनाए। उनको इनिङ्समा ८ चौका र ८ छक्का समावेश थियो। विनोद भण्डारीसँग अविजित १५८ रनको साझेदारी गर्दै उनले टोलीलाई सहज जित दिलाए।
मन्से एनपीएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने। यससँगै सुदूरपश्चिमले लगातार दुई फाइनलको हार र लुम्बिनीसँगको तीन पराजयको बदला लिँदै इतिहास रचेको छ।












