कात्तिक पूर्णिमाका अवसरमा सुनसरीका विभिन्न धार्मिक स्थलमा भक्तजनको चहलपहल बढेको छ।
यस अवसरमा इनरुवास्थित सुनसरी खोलाको गोविन्द घाटमा ‘नमामी सुरसरी’ कार्यक्रम आयोजना गरिएको छ भने पूर्वकै प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र धाममा दर्शन तथा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ।
खोला संरक्षण, सरसफाइ तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सनातन कुटुम्ब नेपालले आयोजना गरेको कार्यक्रममा स्थानीय भक्तजनले सुनसरी खोला किनारमा दीप प्रज्वलन गरेका थिए।
कार्यक्रममा महाआरतीसमेत गरिएको थियो। इनरुवासहित आसपासका पालिकाबाट आएका भक्तजनको उल्लेख्य सहभागिता रहेको कार्यक्रम यस वर्ष आठौँपटक आयोजना गरिएको हो।
यता बराहक्षेत्र धाममा पनि कात्तिक पूर्णिमाको अवसरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। बराह भगवानको दर्शन तथा पूर्णिमा स्नानका लागि सुनसरीसहित विभिन्न जिल्लाबाट भक्तजन यहाँ पुगेका छन्।
हरिबोधनी एकादशीदेखि सुरु भएको कात्तिक स्नानको समापनका रूपमा पूर्णिमा स्नान गर्ने परम्परा छ।
एकादशीदेखि पूर्णिमासम्म स्नान गरी बराह भगवानको दर्शन गरे पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ भक्तजन बराहक्षेत्र पुग्ने गरेका छन्।
धार्मिक आस्था, दीप प्रज्वलन र स्नानका कारण कात्तिक पूर्णिमामा सुनसरीका धार्मिक स्थलहरूमा विशेष रौनक देखिएको छ।
तस्बिरहरु: नवीन गड्तौला र गुरु ढकाल/ नेपाल फोटो लाइब्रेरी
