काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ थानकोटमा ऐतिहासिक महालक्ष्मी जात्रा सुरु भएको छ। जात्राका क्रममा बाजागाजाको धुनसँगै देवदेवीका खट बोकेर नगर परिक्रमा गराइएको छ।
रातो सिन्दूरले रंगिएका खट, धिमे बाजाको गुञ्जन, परम्परागत भेषभूषामा सजिएका स्थानीय र जात्रामा रमाउँदै सहभागी भएका सर्वसाधारणले थानकोटको पुरानो बस्ती उत्सवमय बनेको छ।
खटलाई नचाउँदै अघि बढाउने र एकअर्कालाई सिन्दूर लगाएर जात्रा मनाउने दृश्यले यहाँको सांस्कृतिक रौनक थपेको छ।
स्थानीय नेवार समुदायको आस्था र पुस्तौँदेखिको परम्परासँग जोडिएको महालक्ष्मी जात्रा थानकोटको मौलिक संस्कृति र पहिचानको जीवन्त उत्सव हो।
