News

कहीँ नभएको जात्रा हाँडीगाउँमा

avatar
Street Nepal

An editor at streetnepal


  • October 27, 2026
  • 10 पटक पढिएको

काठमाडौं । दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौंको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानसँग जोडिएको यो मौलिक जात्रा तीन दिनसम्म चल्छ।

चोक्टे नारायण जात्राका नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीकका रूपमा तीनवटा खट निकालेर हाँडीगाउँका विभिन्न टोल परिक्रमा गराइन्छ। खटको अनौठो बनावट र घुमाउने विशिष्ट शैलीका कारण यो जात्रा काठमाडौंका अन्य जात्राभन्दा फरक मानिन्छ।

सामान्यतया अन्य जात्रामा देवताको मूर्ति माथि र गजुर तल राख्ने चलन हुन्छ। तर, हाँडीगाउँको चोक्काथुनारायण जात्रामा भने गजुर तल र देवताको मूर्ति माथि राखेर खट बनाइन्छ। बाँस तथा काठको सहायताले तयार पारिएका यी खटलाई विशेष शैलीमा घुमाउँदै नगर परिक्रमा गराउने दृश्य जात्राको मुख्य आकर्षण हो।

परम्पराअनुसार माथिल्लो ठटाल टोलबाट ब्रह्माको, बीचको न्याल्म टोलबाट विष्णु अर्थात् नारायणको र तल्लो कोटाल टोलबाट महेश्वरको खट निकालिन्छ। तीनवटै खटको दर्शन तथा पूजाआराधना गर्न स्थानीय बासिन्दा र भक्तजन सहभागी हुन्छन्।

यस जात्रामा खट सजाउन मैनबाट बनाइएका फूल प्रयोग गरिनु अर्को विशेषता हो। खट घुमाउने क्रममा झर्ने फूल टिप्न भक्तजन तथा स्थानीयवासी उत्साहित हुने गर्छन्।

प्रचलित किंवदन्तीअनुसार एउटी गर्भवती महिला १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि नारायणको आराधना गर्न पुगेकी थिइन्। नारायणलाई प्रसन्न पार्न अन्यत्र नभएको जात्रा देखाउने वाचा गरेपछि उनको मनोकामना पूरा भएको विश्वास गरिन्छ। यही घटनाको सम्झनामा चोक्काथुनारायणको जात्रा सुरु भएको जनविश्वास छ।

विशिष्ट खट, मौलिक परम्परा र धार्मिक आस्थासँग जोडिएको हाँडीगाउँको यो जात्रा काठमाडौंको सांस्कृतिक पहिचान र सम्पदाको महत्त्वपूर्ण हिस्सा हो।

नेपाल फोटो लाईब्रेरी

Facebook Comments