फिल्म ‘बाटुलो जून’को शीर्षगीत सार्वजनिक
भुवन केसीको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘बाटुलो जून’को शीर्षगीत सार्वजनिक भएको छ। निर्माण टिमले अनमोल केसी र प्रिन्सी खतीवडालाई प्रस्तुत गर्दै ‘बाटुलो जून’ बोलको गीत सार्वजनिक गरेको हो।
एसडी योगी र सानु सुनारको स्वर रहेको गीतमा राम अविरल बिष्टको शब्द तथा एसडी योगीकै संगीत रहेको छ। गीतको संगीत संयोजन र मिक्सिङ–मास्टरिङ पनि एसडी योगीले गरेका हुन्। गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका छन्।
फिल्ममा भुवन केसी र अनमोल केसीसँगै नवप्रस्तुतिका रूपमा प्रिन्सी खतीवडा देखिनेछिन्। गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, लक्ष्मी गिरीलगायत कलाकारको पनि अभिनय रहेको छ।
फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सहनिर्माताका रूपमा रहेका छन्। फिल्मको छायांकन राजेश श्रेष्ठले गरेका छन्। कथा समीप्यराज तिमल्सेना, सरिन पोखरेल र काजल केसीको रहेको छ भने पटकथा समीप्यराज तिमल्सेना र सरिन पोखरेलले तयार पारेका हुन्।
