बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक
- November 11, 2026
- 18 पटक पढिएको
तिहारको अन्तिम दिन अर्थात् भाइटीका। घरघरमा दिदीबहिनी र दाजुभाइबीच प्रेम, आत्मीयता र सद्भाव साटासाट भइरहेको छ। निधारमा सप्तरङ्गी टीका, गलामा माला र हातमा उपहार बोकेर दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गरिरहेका छन्।
तर सबैका लागि घरमै बसेर भाइटीका मनाउने अवसर हुँदैन। कसैका दाजुभाइ छैनन्, कसैका दिदीबहिनी छैनन्। उनीहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर एउटा साझा आस्थाको थलो बनेको छ।
वर्षमा एक दिन, भाइटीकाका अवसरमा मात्रै सर्वसाधारणका लागि खुल्ने यो मन्दिरमा बिहानैदेखि टीका लगाउनेहरूको घुइँचो लागेको छ। दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ यहाँ पुगेर एकअर्कालाई टीका लगाउँछन्। मन्दिरमा दर्शन तथा पूजाआजा गर्नेहरूको पनि उत्तिकै भीड देखिन्छ।
भाइटीकाको उत्तम साइत सुरु हुनुअघि नै मन्दिर परिसरमा टीका लगाउनेहरूको चहलपहल बढेको थियो। यहाँ पुग्नेहरूका लागि बालगोपालेश्वर मन्दिर केवल पूजास्थल मात्रै होइन, चाडपर्वमा सम्बन्ध र आत्मीयता साट्ने साझा चौतारी पनि बनेको छ।
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा देखिएका भाइटीकाका केही दृश्य :










