काठमाडौंमा खुल्यो टिभिएसको पहिलो प्रिमियम तथा ईभी सोरुम
- November 22, 2026
- 6 पटक पढिएको
काठमाडौंमा टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधन (ईभी) लक्षित नयाँ सोरुम सञ्चालनमा आएको छ। नेपालका लागि टिभिएसको आधिकारिक साझेदार जगदम्बा मोटर्सले शुक्रबारदेखि नयाँ सोरुम सञ्चालनमा ल्याएको हो।
टिभिएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा सोरुम उद्घाटन गरेका हुन्। सोरुम उद्घाटनको अवसरमा बाइक र्यालीसमेत आयोजना गरिएको थियो।
नयाँ सोरुममा टिभिएसका प्रिमियम मोटरसाइकल र विद्युतीय स्कुटर एउटै छानामुनि उपलब्ध हुनेछन्। ग्राहकले मोटरसाइकल तथा स्कुटरसँगै कम्पनीका आधिकारिक गियर, एसेसरिज र कस्टमाइज्ड हेल्मेटसमेत खरिद गर्न सक्नेछन्।
सोरुममा अपाचे आरटीआर २०० ४भी यूएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० ४भी यूएसडी प्रोजेक्टर, टिभिएस रोनिन, रोनिन अगोन्डा, आईक्युब र अर्बिटर उपलब्ध हुने कम्पनीले जनाएको छ।
कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग पनि जोड्दै कम्पनीले बाढी प्रभावित नुवाकोट र रसुवाका विभिन्न सरकारी तथा सार्वजनिक संस्थालाई २५ वटा टिभिएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालय, कारागार, स्थानीय तह, सरकारी विद्यालय तथा अस्पताललाई प्रदान गरिएका मोटरसाइकलले प्रभावित क्षेत्रमा सेवा प्रवाह र आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा कलाकार सौगात तामाङले नेपाली कला र सिर्जनशीलता झल्किने गरी तयार पारेको विशेष कस्टमाइज्ड हेल्मेटसमेत प्रदर्शन गरिएको थियो।
जगदम्बा मोटर्स र टिभिएसबीच १५ वर्षदेखि व्यावसायिक सहकार्य हुँदै आएको छ। कम्पनीले नयाँ सोरुमले नेपाली बजारमा प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्नुका साथै ग्राहकलाई थप व्यवस्थित सेवा र ब्रान्ड अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
विश्वका ९० भन्दा बढी देशमा उपस्थिति रहेको टिभिएसले नेपालमा पनि आफ्नो बिक्री सञ्जाल र बिक्रीपछिको सेवा विस्तार गर्दै आएको छ।






