काठमाडौंमा पहिलोपटक ‘हन्टरहुड’, भारतीय र्यापर डिभाइन मुख्य आकर्षण
- November 23, 2026
- 11 पटक पढिएको
गीत, मोटरसाइकल संस्कृति, सडक खेलकुद र कलाको संगम ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय संस्करणका रूपमा काठमाडौंमा आयोजना हुने भएको छ।
रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ (मंसिर २६) मा भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।
महोत्सवमा भारतीय चर्चित र्यापर डिभाइनले नेपाली र्यापर साकारसँग प्रस्तुति दिनेछन्। कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीलगायत नेपाली कलाकार तथा ब्यान्डको पनि प्रस्तुति रहनेछ।
सांगीतिक कार्यक्रमसँगै स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल, बास्केटबल र विभिन्न सडक खेलकुद महोत्सवका मुख्य आकर्षण हुनेछन्। लाखे नाच, भैरव तथा काली नृत्य, कस्प्ले, लाइभ आर्ट, फेसन र नेपाली सिर्जनात्मक उत्पादनका स्टलसमेत राखिनेछन्।
युवा पुस्ताको सहरी जीवनशैली, संगीत, कला र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदाय सहभागी हुनेछन्।
दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिनेछ। टिकट मूल्य ३५० रुपैयाँदेखि सुरु हुने आयोजकले जनाएको छ।
