अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’
- November 24, 2026
- 9 पटक पढिएको
भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेको उक्त रेल अयोध्याधामबाट सोमबार दिउँसो १२ः३० बजे जनकपुरधामका लागि प्रस्थान गरेको थियो। रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसन आइपुगेको हो।
रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी प्रस्तुत गरिएको थियो। रेलबाट आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलका सदस्यलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका थिए।
करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेल भारतको उत्तर प्रदेश र बिहार हुँदै जनकपुरधाम आइपुग्छ। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिने व्यवस्था छ।
१७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन्। यो रेल सातामा एकपटक सञ्चालन हुनेछ।
भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
तस्बिर : अमरेन्द्रकुमार यादव/नेपाल फोटो लाइब्रेरी








